
काठमाडौँ- २० औँ एसियाली खेलकुदका लागि ३० खेल दर्ता भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ। कमिटीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै असार १६ गतेसम्म एशियाली खेलकुदका लागि खेलहरु दर्ता गर्न दिइएको समयसीमाभित्र ३० वटा खेलहरु दर्ता भएको जानकारी दिएको हो।
युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषद्लाई खेलहरु दर्ता गर्नका लागि पत्राचार गरे पनि कुनै प्रतिक्रिया नआएको कमिटीका महासचिव राजीव श्रेष्ठले बताए। दर्ताका लागि सिफारिस नभएको खेलहरुलाई समावेश नहुने भन्दै यस विषयमा सरकारसँग थप छलफल गर्ने उनको भनाइ छ।
यसैगरी अक्टोबर २२ देखि ३१ सम्म बहराइनमा हुने थर्ड युथ एसियन गेम्सको सन्दर्भमा पनि खेलकुद मन्त्रालयमा पत्रचार गरेको र यसमा पनि कुनै जवाफ नआएको उनले बताए। कुनकुन खेललाई समेट्ने भन्ने बारेमा मन्त्रालयलले कुनै समन्वय नगरेको कमिटीको आरोप छ।
एसियाली खेलकुदका लागि जुलाई २१ सम्म नेपाली टिमले दर्ता गरिसक्नुपर्ने पनि कमिटीले जनाएको छ। जीवनराम श्रेष्ठ अवैधानिक हिसाबले तेस्रो कार्यकालका लागि ओलम्पिक कमिटीको अध्यक्ष बनेको भन्दै मन्त्रालयले कुनै सहकार्य नगर्ने बताउँदै आएको छ।
२०औँ एसियाली खेलकुद जापानको आइची नागोयामा सन् २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुनेछ। सन् १९५१ मा पहिलोपटक सुरु गरिएको एसियाली खेलकुद हरेक चार वर्षमा एकपटक हुने अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता हो।