
बुटवल- बजेटमा छलफल गर्न बसेको लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ। मंगलबार बैठक सुरु भएलगत्तै प्रतिपक्षमा रहेका दलहरूले उठेर बजेटप्रति विरोध जनाएपछि राजनीतिक सहमतिका लागि भन्दै बैठक आधा घण्टाका लागि सभामुख तुलाराम घर्ति मगरले स्थगित गरेका हुन्।
आधा घण्टाका लागि बैठक स्थगित गरिए पनि राजनीतिक दलहरूबीच छलफल भइरहेकाले बैठक बस्न ढिलाइ भइरहेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए।
बैठक सुरु हुनासाथ माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारुले बजेट सच्याइनु पर्ने माग राख्दै बैठक स्थगित गर्न माग गरेका थिए।
प्रतिपक्षको विरोधपछि सभामुख मगरले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन्। आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ गर्ने बैठकको सम्भावित कार्यसूचीमा थियो।
सोहीअनुसार आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यक्रम तय गरिएको थियो।
यसअघि प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गरेको थियो। त्यसयता बजेट प्रस्तुत भएको १७ औँ दिनमा बैठक बसेको हो।