
काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधान हटाइएको घटनामा आपत्ति जनाएका छन्। उनले यस घटनालाई विश्व राजनीतिक इतिहासकै लाजमर्दो र निकृष्ट ठगीको संज्ञा दिएका छन्।
डा.भट्टराईले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘कुलिङ अफ पिरियड’ भनिने सरकारी कर्मचारीहरूले अवकाश वा राजीनामा पछि अर्को ठूलो सरकारी भाग खान २ वर्ष पर्खनुपर्ने संसदीय समितिले पारित गरेको प्रावधान जालसाजीपूर्ण ढंगले हटाएर संसद्बाट पारित गराएको घटना नेपाल मात्र हैन, विश्व इतिहासकै निकृष्ट र लाजमर्दोमध्ये एक राजनीतिक ठगीको घटना हुनुपर्छ!’
उनले उच्च तहका कर्मचारी र राजनीतिक नेतृत्वबीचको साँठगाँठका कारण यस्ता गम्भीर र जनविरोधी अपराधहरू सम्भव हुने गरेको जिकिर गरे। ‘यो देशमा कति ठूला राज्यदोहनकारी, राष्ट्रघाती र जनविरोधी अपराधहरू हुँदै आएका रहेछन् वा हुनसक्नेरहेछन् भन्ने यो जिउँदो र ताजा प्रमाण हो,’ उनले लेखेका छन्।
पूर्वप्रधानमन्त्री भट्टराईले अहिलेको परिस्थितिमा केवल सतही सुधारले नपुग्ने उल्लेख गर्दै समग्र राजनीतिक प्रणाली र राज्य संरचनाको अग्रगामी, लोकतान्त्रिक र समाजवादी पुनर्संरचनाको खाँचो औंल्याएका छन्। ‘हामीले त्यत्तिकै अब टालटुले सुधारले हुन्न बरू देशको समग्र राजनीति र राज्यप्रणालीकै अग्रगामी, लोकतान्त्रिक, समाजवादी पुनर्संरचना गरौं भनेर केही वर्षदेखि नयाँ वैकल्पिक राजनीतिवारे चिच्याउँदै आएको हैन है!’ उनले भने।