यू १६ इस्ट जोन क्रिकेट : भुटानमाथि नेपालको सानदार जित

हिमाल प्रेस १७ असार २०८२ १४:०१
यू १६ इस्ट जोन क्रिकेट : भुटानमाथि नेपालको सानदार जित

काठमाडौँ- नेपालले एसीसी मेन्स यू १६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानमाथि फराकिलो जित निकालेको छ। नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाएर ६० रन मात्र बनाएपछि नेपालले २९८ रनको जित निकालेको हो।

नवौं विकेट खसेपछि पानी पनि पर्न थालेको थियो भने अन्तिम ब्याटर ब्याटिङमा नआउने भएपछि खेल सकिएको घोषणा गरियो। भुटानका सेजाङ दावाले सर्वाधिक १४ रन बनाए। उगेन केल्जाङले १० रन बनाए। नेपालका लागि कप्तान बिपिन प्रसाद शर्माले १० ओभरमा ६ मेडन राख्दै ७ रन मात्र दिएर ४ विकेट लिए।

सचिन भट्टले ८ ओभरमा ५ मेडन राख्दै १५ रन दिएर २ विकेट लिए। सुयोग भट्टराईले पनि २ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रनको विशाल योगफल खडा गरेको थियो। यो प्रतियोगितामा यो दोस्रो सर्वाधिक स्कोर हो। यसअघि नेपालले नै इन्डोनेसियाविरुद्ध ४२० रनको योगफल बनाएको थियो।

रौनक श्रीवास्तवले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रन बनाए। जोय थापा ६१ रनमा अविजित रहे भने शिवांश बजगाइले ५४ रन बनाए । नेपाल समूह विजेता बन्दै सेमिफाइनल पुगेको छ। सेमिफाइनलमा नेपालको भेट मलेसियासँग हुनेछ।

प्रकाशित: १७ असार २०८२ १४:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast