रूपन्देही-३  :  खाणको कमब्याकदेखि रास्वपा-राप्रपाबाट नयाँ अनुहारको चर्चा

विनोद परियार १७ असार २०८२ १२:५०
414
SHARES
रूपन्देही-३  :  खाणको कमब्याकदेखि रास्वपा-राप्रपाबाट नयाँ अनुहारको चर्चा

बुटवल- निर्वाचन आयोगले रूपन्देही निर्वाचन क्षेत्र न. ३ को उपचुनावको मिति कात्तिक १७ गतेका लागि तय गरेको छ। निर्वाचन सम्भावित मितिबारे आयोगले छलफल गरिरहेकै बेला उपचुनावका लागि दलहरूमा उम्मेदवारका आकांक्षीहरूले लबिङ थालेका थिए।

सोमबार निर्वाचन आयोगले मिति नै तय गरेको सूचना जारी गरेपछि चुनावी वातावरण सुरु भएको छ। रूपन्देहीबाट निर्वाचन क्षेत्र न. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको निधनपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो।

लामो समयदेखि रूपन्देहीमा विजयी हासिल गर्दै आएका बोहोराले २०७९ को निर्वाचनमा बहालवाला गृहमन्त्री नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणलाई हराएका थिए। बोहोरालाई उतिबेला नेकपा एमालेको साथ थियो। खाणलाई माओवादी, नेकपा एकीकृत समाजवादीको समर्थन थियो।

भुटानी शरणार्थी प्रकरणमा खाणमाथि मुद्दा चलेपछि राजनीतिबाटै छायामा रहेका खाण चुनाव लड्ने कि नलड्ने दोधारमा रहेको निकट नेताहरू बताउँछन्। अदालतले धरौटीमा रिहा गरेकाले कानुनी रूपमा अड्चन नभए पनि नैतिक हिसाबले के गर्ने भन्ने अन्योलमा खाण छन्।

खाणको विगत ६ महिनायताको दौडधूप भने निर्वाचन लक्षित देखिन्छ। उनी कार्यकर्ताहरूबीच भेटघाटमा सक्रिय हुने गरेका छन्। साथै उनले विभिन्न कार्यक्रममा गएर विकास निर्माणका विषयमा अभिव्यक्ति दिँदै आएका छन्।

नेपाली कांग्रेस रूपन्देहीका सचिव हरि काफ्लेले सिनियर नेता भएकाले बालकृष्ण खाणको चर्चा हुनु स्वाभाविक भएको बताए। तर उनले निर्वाचन आयोगले मिति मात्रै सावर्जनकि गरेकाले तत्कालै उम्मेदवार टुंग्याउने विषयमा छलफल नै नभएको बताए। ‘अहिलेसम्म केन्द्रले परिपत्र गरेको छैन, केन्द्रको परिपत्रपछि छलफल हुनेछ’, काफ्लेले भने।

नेकपा एमालेका पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी उम्मेदवारी पक्का गरेको सन्देश दिएका छन्।

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले २०७४ सालमा स्व. दीपक बोहोरालाई यही निर्वाचन क्षेत्रबाट पराजित गरेकाले उनीमाथि विपक्षीहरुको वाम साझा मोर्चाबाट उम्मेदवार बन्न दबाब छ।

रास्वपा र राप्रपाले नयाँ अनुहारलाई अगाडि सार्ने गरी तयारीमा जुटेका छन्।

मधेश केन्द्रित दलहरुले साझा उम्मेदवार बनाउन केन्द्रबाटै सहमतिको प्रयास गरेका छन्।

सचिव काफ्लेले खाण उम्मेदवार बन्ने कि नबन्ने भन्ने विषयमा अहिलेसम्म औपचारिक धारणा बनिनसकेको बताए। नेपाली कांग्रेसबाट पूर्वसांसद भरत साह, प्रमोद यादव, पूर्वजिल्ला सभापति रामचन्द्र ढकालको पनि चर्चा छ।

प्रमोद रूपन्देही क्षेत्र नम्बर ४ मा यसअघि पराजित भएका थिए। शाहको बसोबास भैरहवामा रहेकाले यहाँबाट लड्न चाहेका हुन्। उनी २०७९ मा रूपन्देही निर्वाचन क्षेत्र न. ५ बाट एमालेका वासुदेव घिमिरेसँग पराजित भएका थिए।

२०७९ मा राप्रपाका दीपक बोहोरा जिताउन लागेको नेकपा एमालेभित्र आकांक्षीहरूको ओइरो लागेको छ। एमालेले बोहोरालाई जिताएर ठूलो गल्ती गरेको भन्दै चुकचुकाएका नेताहरूले यसपालि आफूहरूले जित्ने गरी तयारीमा लाग्नुपर्ने बताउने गरेका छन्।

नेकपा एमालेका पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी उम्मेदवारी पक्का गरेको सन्देश दिएका छन्। अहिलेसम्म उपनिर्वाचनमा क्षेत्र न. ३ बाट बलियो आकांक्षा राख्ने नेता भट्टराई नै हुन्। यद्यपि भट्टराईको निर्वाचन क्षेत्र पहिल्यैदेखि क्षेत्र न. ५ भएकाले क्षेत्र न. ३ का नेताहरूले विरोध गरेका छन्।

एमालेका नेताहरूले पार्टी अध्यक्षलाई भेट गर्नेदेखि दोस्रो पुस्ताका नेतासम्म भेटनेक्रम जारी राखेका छन्। भैरहवाका एमाले नेता भरत पोखरेल, पूर्वप्रदेश सभा सदस्य दधिराम न्यौपाने, एमाले रूपन्देही उपाध्यक्ष हितराज पन्थी, व्यवसायी शशि पौडेललगायतको नाम सम्भावित उम्मेदवारका रूपमा चर्चामा छ।

नेकपा एमाले रूपन्देही अध्यक्ष यज्ञ गैरेले उम्मेदवारका विषयमा टुंगो लागिनसकेको बताए। ‘नेताहरूले आकांक्षा राख्न पाउनुहुन्छ, को उम्मेदवार भन्ने कुरा टुंगो लागेपछि भनाँैला’, उनले भने। गैरेले एमालेभित्र सक्षम नेताहरू धेरै भएकाले आकांक्षा राख्ने कुरा स्वाभाविक भएको बताए।

त्यसो त नेकपा एकीकृत समाजवादीका महासचिवसमेत रहेका घनश्याम भुसालको समेत उपनिर्वाचन लड्ने चर्चा छ। २०७४ सालमा स्व. दीपक बोहोरालाई यही निर्वाचन क्षेत्रबाट पराजित गरेका भुसालमाथि विपक्षीहरूको वाम साझा मोर्चाबाट उम्मेदवार बन्नका लागि दबाब परेको नेताहरू बताउँछन्।

नेकपा एकीकृत समाजवादीबाट लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी आकाक्षी छन्। भैरहवा क्षेत्रमा लामो समयदेखि व्यावसायिक रूपमा सफल भण्डारी उम्मेदवार हुँदा विपक्षी गठबन्धनले साथ दिनसक्ने अनुमान गरिएको छ।

नेकपा एकीकृत समाजावादी रूपन्देहीका अध्यक्ष हीराध्वज शाहले भने औपचारिक रूपमा उम्मेदवारबारे छलफल नभएको बताएका छन्।

नेकपा माओवादी केन्द्र रूपन्देहीका संयोजक निर्मल जीसीले उम्मेदवारबारे छलफल सुरु नभएकाले केही दिनमा नाम सार्वजनिक गर्ने बताए। उनका अनुसार पार्टीमा उम्मेदवार बन्न योग्य धेरै साथी भए पनि कसलाई अघि सार्ने भन्नेबारे औपचारिक रूपमा छलफल भइसकेको छैन।  ‘केही दिनमै बैठक बसेर माओवादी केन्द्रको उम्मेदवारको नाम सार्वजनिक गर्छौँ’, उनले भने।

रास्वपा र राप्रपाबाट नयाँ अनुहार

पछिल्लो समय देशैभर परम्परागत दलहरूप्रति मानिसहरूको आकर्षण घटिरहेकाले नयाँ अनुहार चुनौती बन्न सक्ने विश्लेषण गरिएको छ। यही कुरालाई दृष्टिगत गरी रास्वपाले नयाँ अनुहार अगाडि सार्ने गरी तयारी गरेको छ।

रास्वपाबाट उम्मेदवार प्रदेश उपाध्यक्ष शालिकराम घिमिरे, प्रदेश सदस्य प्रकाश ज्ञवाली, क्षेत्रीय सभापति मधु अर्याल र बुटवलका चिकित्सक डा.योगेन्द्र अग्रहरीको नाम चर्चामा छ। प्रदेश उपाध्यक्ष घिमिरेले आफूहरूले नियम विधि र पद्धतिबाट उम्मेदवार टुंगो लगाउने बताए। ‘पार्टीको नियम छ, प्राइमरी इलेक्सनबाट आधिकारिक रूपमा उम्मेदवार टुंगो लगाइन्छ’, उनले भने, ‘आकांक्षा राख्नेहरू धेरै छन्् तर पार्टी केन्द्रसँगको समन्वयमा टुंग्याइन्छ।’ उनले अहिलेको अवस्थालाई विश्लेषण गरेर चर्चामा आएका वा अन्य व्यक्तिलाई उम्मेद्वार बनाउने बताए।

केही दिनमा महामन्त्री कवीन्द्र बुर्लाकोटी रूपन्देही आउने कार्यक्रम छ। त्यसपछि उम्मेदवारका विषयमा औपचारिक रूपमा छलफल हुने रास्वपाका नेताहरू बताउँछन्।

राप्रपाबाट दीपक बोहराको विरासत जोगाउने गरी उनकै परिवारका सदस्यलाई उठाउनुपर्ने चर्चा छ। बोहोराका दुई श्रीमतीमध्ये जेठी मञ्जुतर्फका छोरा पाइलट गौरव र कान्छी श्रीमती उन्नतितर्फका छोरा इन्जिनियर प्रज्जव बोहरामध्ये एक जना उम्मेदवार बन्न सक्ने राप्रपाका नेताहरूको दाबी छ।

राप्रपा जिल्ला अध्यक्ष एवं सिद्धार्थ नगरपालिका पूर्वमेयर सागरप्रताप राणाले पनि आकाक्षा व्यक्त गरेका छन्।

२०७९ सालको निर्वाचनमा रूपन्देही–३ बाट राप्रपाका दीपक बोहराले कांग्रेस नेता बालकृष्ण खाणलाई २ हजार ६८१ मतले पराजित गरेका थिए। बोहराले ३६ हजार ७१७ र खाणले ३४ हजार ३६ मत पाएका थिए। निर्वाचनकै बेला बिरामी रहेका बोहोरा निर्वाचित भएपछि एकपटक पनि संसद्मा नबोली गत चैत १९ गते काठमाडौँको ओम अस्पतालमा संसारबाट बिदा भएका थिए।

मधेशी दलहरू केन्द्रबाटै मोर्चाबन्दीमा

सात दल आबद्ध संघीय लोकतान्त्रिक मधेशी मोर्चाले सकभर साझा उम्मेदवार बनाएर चुनाव लड्नेबारे केन्द्रीय तहबाटै छलफल भइरहेको छ। जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनमत पार्टी, लोसपालगायतले साझा उम्मेद्वार बनाउने गरी कसरत थालेका छन्।

रूपन्देही ३ को उपनिर्वाचनमा उम्मेदवार छान्ने जिम्मा नाउपाले पार्टी संरक्षक रेशम चौधरीलाई दिएको छ। उपनिर्वाचनको मिति घोषणा भएलगत्तै नाउपाकी अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले रूपन्देही ३ मा उम्मेदवार छान्ने जिम्मा संरक्षक चौधरीलाई दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्।

प्रकाशित: १७ असार २०८२ १२:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast