तीन दशक सेवा गरेका शिक्षकलाई अयोग्य भन्ने सरकारको नीति निन्दनीय : कल्पना पनेरु

हिमाल प्रेस १७ असार २०८२ १०:५२
1.2k
SHARES
तीन दशक सेवा गरेका शिक्षकलाई अयोग्य भन्ने सरकारको नीति निन्दनीय : कल्पना पनेरु

काठमाडौँ- नेपाल शिक्षक महासंघकी सचिव कल्पना पनेरुले विद्यालय शिक्षा विधेयकमा सरकारले शिक्षक, विद्यार्थी र विद्यालयप्रति देखाएको व्यवहारलाई ‘निकृष्ट’ र ‘लाजमर्दो’ भनेकी छन्। संसद् भवन अगाडि भएको आन्दोलनमा सहभागी शिक्षकहरूको आवाजलाई सरकार र शासकहरूले बेवास्ता गरेको भन्दै उनले आक्रोश पोखेकी हुन्। उनले भनिन्, ‘देशभरिका लाखौं शिक्षक, विद्यार्थी र विद्यालयप्रति सरकारले देखाएको निकृष्ट व्यवहार आज विश्व समुदायसामु लाज लाग्ने अवस्थामा पुगेको छ।’

सचिव पनेरुले शिक्षालाई सुधार गर्नुको साटो सरकारले व्यक्तिगत स्वार्थ, पद, पैसा र पावरका लागि संविधान, इमानदारी र मानवता नै बेचेको आरोप लगाइन्। ‘दर्जनौं नेपालीको रगत र पसिनामा होली खेलेर सत्तामा पुग्नेहरूले सत्तामा बसेर अब श्रमजीवी वर्गलाई झुट, फसावट र अलमलको जालमा पार्ने प्रयास गर्दैछन्,’ उनको आक्राेश छ।

उनले लामो समयदेखि अस्थायी रूपमा काम गरिरहेका शिक्षकहरूलाई ‘अयोग्य’ को बिल्ला लगाएर बिदा गर्ने योजनालाई खारेज गर्न माग गरिन्। ‘तीन दशकभन्दा बढी देशको शिक्षामा समर्पित भएका शिक्षकलाई सेवाबाट बिदा गरेर अपमान गर्ने नेतृत्वलाई शिक्षकले अब चिन्ने मौका पाएका छन्,’ उनले भनिन्।

बाल शिक्षक, निजी विद्यालयका अनुभवी शिक्षक र विद्यालयका नन-टिचिङ स्टाफहरूलाई वेवास्ता गर्ने प्रवृत्तिप्रति उनले गम्भीर असन्तोष प्रकट गरिन्। ‘दशकौँसम्म निजी विद्यालयमा पढाएका शिक्षकलाई नियुक्ति दिन नसक्नु, रात्रिकालीन सुरक्षामा खटिने कर्मचारीलाई नचिन्नु कति सम्मको नीचता हो?’ उनको प्रश्न छ।

उनले विगतमा पालैपालो सत्तामा पुगेका सबै दल र तिनका भरोसायोग्य कर्मचारीहरूले पटकपटक शिक्षक समुदायलाई झुक्याएको बताइन्। ‘अब यी सबैको हिसाबकिताब शिक्षक, विद्यार्थी र आम नागरिकले गर्नेछन्,’ उनले भनिन्।

सरकारलाई चेतावनी दिँदै पनेरुले भनिन्,‘संविधान पढाएर बसेका शिक्षक अब अन्याय, तिरस्कार, अपमान र घृणाको शिकार बनेर दास भएर बस्ने छैनन्। गणतन्त्र र संघीयता शिक्षकको अपमानबाट बलियो हुँदैन्।’

उनले आन्दोलनपछि महासंघसँग भएको सम्झौतामाथि षड्यन्त्र गरिएको आरोप लगाउँदै यसप्रति निन्दा व्यक्त गरिन्। ‘सम्झौतालाई षड्यन्त्रको जाल बुनेर ल्याइनु अत्यन्त निन्दनीय र खेदजनक छ,’ उनले भनिन्।

प्रकाशित: १७ असार २०८२ १०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast