
काठमाडौँ- एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ। मलेसियाको सेलांगार टर्फ क्लब क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान पौने ८ बजे खेल सुरु हुनेछ।
अहिलेसम्म खेलेका तीनवटै खेलमा विजयी हुँदै समूह ‘ए’मा शीर्ष स्थानमा रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ। नेपालसँगै समूह ‘ए’बाट चार खेलमा छ अंकसहित दोश्रो स्थानमा रहेको सिंगापुर पनि सेमिफाइनलमा पुगेको छ । यस्तै समूह ‘बी’बाट मलेशिया र हङकङ सेमिफाइनलमा प्रवेश गरेका छन्।
आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई छ विकेट, दोश्रो खेलमा जापानलाई नौ विकेट र इन्डोनेसियालाई चार सय २१ रनको फराकिलो अन्तरले हराएको थियो। १६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन्। समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भूटान र जापान छन्।
यस्तै समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन्। सेमिफाइनलका खेलहरु पर्सि बिहीवारदेखि सुरु हुनेछ। प्रतियोगिताको फाइनल खेल असार २१ गते शनिबार हुनेछ।