प्रदेशसभाको अस्तित्व र गरिमाका लागि सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री देवकोटा

हिमाल प्रेस १७ असार २०८२ ११:३३
26
SHARES
प्रदेशसभाको अस्तित्व र गरिमाका लागि सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री देवकोटा

पोखरा- गण्डकी प्रदेश सभाको आठौँ अधिवेशनको २०औँ बैठकमा ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटाले आफू संविधान र गणतन्त्रका लागि मर्न तयार भएर लडेको स्मरण गर्दै प्रदेशसभाको गरिमा र अस्तित्वको संरक्षणमा सबैजना प्रतिबद्ध हुनुपर्ने बताएका छन्।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा वार्षिक कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री देवकोटाले भने, ‘यो संविधान र गणतन्त्रका लागि धेरै पटक मरेर बाँचेर आएको योद्धा जिउँदै छु। यो कुनै व्यक्ति विशेषको एजेन्डा होइन, यो त राजनीतिक प्रतिबद्धता हो।’

उनले एक वर्षअघिको असार १३ गतेको घटनालाई स्मरण गर्दै भने, ‘ठिक एक वर्षअघि आजकै दिन एक जननिर्वाचित प्रदेशसभा सदस्यलाई सभाको ढोकाबाटै फर्काइएको थियो। त्यो केवल एउटा सांसद फर्किएको घटना थिएन, त्यो एक विचार, स्वाभिमान र संविधानको अपमान थियो।’

मन्त्री देवकोटाले आफू त्यही दिन प्रदेशसभाको रक्षाका लागि मर्न तयार भएको उल्लेख गर्दै भने,‘प्रदेशसभा समाप्त पार्न खोज्दा आफू पनि सकिन्छु भन्ने थाहा हुँदाहुँदै पनि मर्न तयार भएर रक्षा गरेको दिन सम्झन्छु।’

उनले गण्डकी प्रदेशसभालाई संघीयताको मेरुदण्ड भन्दै सबै दल, विचार र राजनीतिक आस्थाका प्रतिनिधिहरूले एकअर्काको अस्तित्वको सम्मान गर्दै यो संस्थालाई बलियो बनाउनु सबैको साझा दायित्व भएको बताए।

‘जन्मदै कोही कसैको भविष्य निर्धारण गर्न सकिँदैन। चाहे व्यक्ति होस् वा विचार। लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन हामीले तर्कसंगत ढंगले आफ्ना विचार राख्न र एकअर्काको अस्तित्व स्वीकार गर्न जान्नुपर्छ,’ उनले भने।

प्रकाशित: १७ असार २०८२ ११:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast