 
                             
                                            काठमाडौँ- जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले देशभर बाढीको जोखिम बढ्दै गएको भन्दै आज पुनः सतर्कता सूचना जारी गरेको छ।
महाशाखाले शुक्रबार जारी गरेको बुलेटिनमा नदीहरूको जलसतह सामान्य भए पनि केही नदीहरूमा बहाव तीव्र गतिमा बढ्दै गएको र साना नदीहरू आकस्मिक बाढीको संवेदनशील स्थितिमा रहेको उल्लेख गरिएको छ।
कोशी, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काईजस्ता प्रमुख नदीहरूको जलसतह हाल सतर्कता तहभन्दा तल रहे पनि नारायणी र कर्णाली जलाधार क्षेत्रका केही जलमापन केन्द्रहरूमा पानीको सतह तीव्र रूपमा बढिरहेको छ। विभागका अनुसार पानीको सतहको वृद्धिसँगै यी क्षेत्रहरू बाढीको पूर्वसंकेत दिने अवस्थामा पुगेका छन्।
बाढी महाशाखाले आज संखुवासभा, दोलखा, सिन्धुपाल्चोक र वरपरका जिल्लाहरूमा बग्ने ससाना नदीहरूमा उल्लेख्य बहाव वृद्धि हुने चेतावनी दिएको छ। ती नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहने प्रक्षेपण गरिएको छ।
काठमाडौँ उपत्यकासहित काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, पाल्पा, जाजरकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा लगायतका जिल्लामा पनि ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। ती क्षेत्रमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहने भन्दै नागरिकलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।
आजै इलाम, झापा, मोरङ, ताप्लेजुङ, बागलुङ, रोल्पा, दैलेख, रुकुमपश्चिम, रुकुमपूर्व, सल्यान, अछाम, कालिकोट, कैलाली, कञ्चनपुर लगायतका जिल्लाहरूमा बहने ससाना नदीहरूको बहाव असामान्य रूपले बढ्ने प्रक्षेपण गरिएको छ।
बाढीको सम्भावित जोखिमलाई गम्भीरतापूर्वक लिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमार्फत नागरिकहरूलाई सचेत रहन अपिल गरेका छन्। बाढी महाशाखाको बुलेटिन सेयर गर्दै उनले भनेका छन्, ‘जलसतह बढ्ने अनुमान भएका क्षेत्रमा बसोबास गर्ने सबैले सतर्कता अपनाउनुहोला।’
स्थानीय तह, सुरक्षा निकाय, उद्धार संस्था र नागरिकहरूलाई महाशाखाले बाढी र आकस्मिक बहावका जोखिमप्रति सजग रहन, नदी किनार आसपास अनावश्यक रूपमा नजान र सूचनाको पालना गर्न विशेष आग्रह गरेको छ।


 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 