हुवावेले एप्पललाई उछिन्यो, चीनको मोबाइल बजारमा अग्रस्थानमा

हिमाल प्रेस ३२ असार २०८२ २०:४६ | Wednesday, July 16, 2025
हुवावेले एप्पललाई उछिन्यो, चीनको मोबाइल बजारमा अग्रस्थानमा

काठमाडौँ– चिनियाँ प्रविधि कम्पनी हुवावे चार वर्षपछि फेरि चीनको मोबाइल बजारको पहिलो स्थानमा पुगेको छ। हुवावेले अमेरिकी कम्पनी एप्पल र चिनियाँ प्रतिस्पर्धीहरूलाई पछि पार्दै सबैभन्दा धेरै मोबाइल बिक्री गरेको हो।

एक रिपोर्टअनुसार हुवावेले यो वर्षको दोस्रो त्रैमासिकमा एक करोड २५ लाख मोबाइल बिक्री गर्दै १८.१ प्रतिशत बजार हिस्सा लिएको छ।

यो उन्नति हुवावेका लागि ठूलो सफलता मानिएको छ। कम्पनीले विगतमा अमेरिकी प्रतिबन्ध र भ्रष्टाचार छानबिन जस्ता चुनौतीहरूको सामना गरेको थियो।साथै, चीनको समग्र मोबाइल बजार भने घटेको देखिएको छ।

यस वर्षको दोस्रो त्रैमासिकमा मोबाइल बिक्री चार प्रतिशतले घटेर ६ करोड ९० लाखमा झरेको छ।एक अनुसन्धानकर्ता आर्थर गुओका अनुसार, ‘चीन–अमेरिका व्यापारमा सहमती भए पनि आर्थिक अवस्था कमजोर छ।’

उनले भने, ‘मानिसहरूको खर्च गर्ने विश्वास अझै कम छ, त्यसैले मोबाइलको माग चाँडै बढ्ने सम्भावना छैन।’

यता हुवावे र अमेरिकाबीच लामो समयदेखि विवाद चलिरहेको छ।

अमेरिकाले हुवावेलाई जासुसीको आरोप लगाउँदै प्रतिबन्ध लगाएको थियो, जसलाई कम्पनीले अस्वीकार गर्दै आएको छ।

सन् २०१९ यता, अमेरिकी प्रविधिको पहुँच गुमेपछि हुवावेले आफ्नै प्रविधि र उपकरण विकास गर्न थालेको हो। यसैबीच, एप्पलको बिक्री घटेको देखिएको छ। पछिल्लो रिपोर्टअनुसार, एप्पल चीनको मोबाइल बजारमा १३.९ प्रतिशत हिस्सा मात्र राख्दै ९६ लाख मोबाइल बिक्रीमा सीमित रह्यो।

एप्पल अहिले चीनको मोबाइल बजारमा पाँचौँ स्थानमा झरेको छ।-रासस/एएफपी

प्रकाशित: ३२ असार २०८२ २०:४६ | Wednesday, July 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast