 
                             
                                            काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणसँग सम्बन्धित ‘नेपाली नफर्किएको’ विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उक्त माग प्रस्तुत गर्दै भने, ‘प्रधानमन्त्रीसँगै वा उहाँ गएकै कार्यक्रममा सहभागी हुने भनेर स्पेन गएका केही नेपाली अहिलेसम्म नफर्किएको पुष्टि भइसकेको छ। यसको छानबिन गर्न संसदीय समिति किन नबनाउने? सरकार किन डराइरहेको छ?’
उनले यस विषयमा गम्भीर छानबिन हुनुपर्ने बताउँदै राप्रपाले औपचारिक रूपमा संसदीय छानबिन समितिको माग गरेको जानकारी दिए।
शाहीले विदेश जाने नेपालीहरूसँग ‘भिजिट भिसा’को नाममा हुने अपारदर्शी आर्थिक लेनदेनबारे विगतदेखि नै संसदमा चर्चा हुँदै आए पनि सरकार गम्भीर नदेखिएको बताए। ‘यो केवल अहिलेको मुद्दा होइन, विगतदेखि उठिरहेको तर बेवास्ता गरिँदै आएको विषय हो,’ उनले भने।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 