सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत, नाउपाका एक सदस्यले पनि दिए मत

हिमाल प्रेस १५ साउन २०८२ २१:१८ | Thursday, July 31, 2025
सुदूरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत, नाउपाका एक सदस्यले पनि दिए मत कमलबहादुर शाह। फाइल तस्बिर

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। प्रदेशसभाको बिहीबारको बैठकले विश्वासको मतका लागि पेस गरिएको प्रस्तावलाई मत विभाजनको प्रक्रियाद्वारा निर्णयार्थ पेस गरिँदा मुख्यमन्त्री शाहको प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको हो।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले पेस गरेको प्रस्तावको पक्षमा ३० मत परेको र यो संख्या प्रदेशसभामा तत्काल कायम रहेको सम्पूर्ण संख्याको बहुमत भएकाले मुख्यमन्त्रीले पेस गरेको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे।

बैठकमा प्रदेशसभा सभामुखसमेत ४६ सदस्य सहभागी रहेकामा मुख्यमन्त्रीको प्रस्तावका पक्षमा ३०, विपक्षमा १५ मत परेको थियो। बहुमतका लागि २७ मत आवश्यक हुन्छ।

नेपाली कांग्रेसका १८ नेकपा (एमाले) का ११ र नागरिक उन्मुक्ति पार्टीका एक सदस्यले मुख्यमन्त्रीको प्रस्तावका पक्षमा मत दिए। नेकपा (माओवादी केन्द्र) का सभामुखबाहेक १०, नेकपा (एकीकृत समाजवादी) पार्टीका (निलम्बित एक सदस्यबाहेक) तीन, राप्रपाका एक र स्वतन्त्र एक सदस्यले विपक्षमा मत दिए।

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएपछि विश्वासको मत लिएका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिकै कैलाश चौधरीले भने विश्वासको मत दिएका छन्। नाउपाका अन्य ६ जना सदस्य भने बैठकमा अनुपस्थित थिए।

यसअघि प्रस्ताव पेस गर्दै मुख्यमन्त्रीले प्रदेशमा सुशासन र समृद्धिका लागि सुधारका कार्य गर्नुपर्छ भन्ने महसुस गरेर नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराइएकामा मन्त्रिपरिषद् हेरफेरपछि सिर्जित प्रश्नहरुका कारण विश्वासको मत लिनुपर्ने भएकाले यो प्रस्ताव पेस गरेको बताए।

मुख्यमन्त्रीले आफ्नो नेतृत्वको सरकारले गरेका महत्वपूर्ण कामको चर्चा गर्दै प्रदेशमा राजनीतिक स्थायित्व र समुन्नतिको सहयात्राको निरन्तरताका लागि सरकारलाई विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गरे।

सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले गत असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्रिपन्न सदस्यीय प्रदेशसभामा भ्रष्टाचारको आरोप लागेका नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारी निलम्बित छन्।

प्रकाशित: १५ साउन २०८२ २१:१८ | Thursday, July 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast