 
                             
                                            तेह्रथुम- तारे होटलहरूमा सिस्नुका परिकारको माग बढेसँगै तेह्रथुमका किसानहरू सिस्नु खेतीलाई व्यावसायिकरूपमा विस्तार गर्न थालेका छन्। लालीगुराँस नगरपालिका–१ मा रहेको चैते सामुदायिक वन क्षेत्र र आसपासका निजी जग्गामा सिस्नु रोपिएको हो।
उक्त वनको ३६५ हेक्टर क्षेत्रफलमध्ये हाल एक हेक्टरमा सिस्नुका बिरुवा लगाउने योजना बनाइएको उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले जानकारी दिए। ‘निजी जग्गाको सिस्नु स्थानीय होटल र बजारमा बिक्री भइरहेका छन्, तर माग बढेपछि सामुदायिक वनमा पनि सिस्नु रोपेका हौँ,’ उनले भने।
चालु आर्थिक वर्षमा प्रदेश सरकारअन्तर्गतको जडीबुटी विकास तथा व्यवस्थापन कार्यक्रममार्फत डिभिजन वन कार्यालयले १० लाख रुपैयाँ बराबरको सिस्नु प्रशोधन मेसिन अनुदानमा प्रदान गरेको छ। आगामी साउनदेखि उक्त मेसिन सञ्चालन गरी सिस्नुको धुलो उत्पादन र बजार विस्तार गरिनेछ।
खड्काका अनुसार ‘लोकल’, ‘पात्ले’ र ‘अल्लो’ जातका सिस्नुबाट उत्पादन गरिने धुलोलाई लेबलिङ र प्याकेजिङ गरी अन्तर्राष्ट्रिय बजारमा पठाउने तयारी भइरहेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 