साफ यू२० महिला च्याम्पियनसिप : अन्तिम मिनेट चुक्यो नेपाल

हिमाल प्रेस ३० असार २०८२ ७:०८ | Monday, July 14, 2025
साफ यू२० महिला च्याम्पियनसिप : अन्तिम मिनेट चुक्यो नेपाल

काठमाडौँ- नेपाली टिम खेलको अन्तिम मिनेटमा सम्हालिन नसक्दा बंगलादेशविरुद्ध साफ यू२० महिला च्याम्पियनसिपको दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको छ।

२-० गोलले अघि रहेको बंगलादेशमाथि पुनरागमन गर्दै नेपाली टिम खेलमा फर्किएको थियो। तर अतिरिक्त समयको अन्तिम मिनेटमा नेपाली डिफेन्डर चुक्दा खेलको नतिजा उल्टियो।

पहिलो हाफमा बंगलादेशले २-० को अग्रता बनाएको थियो। खेलको १३औँ मिनेटमा बंगलादेशले अग्रता बनायो। सिना जहान शिखाले गोल गरिन्। डिफेन्डर गंगा रोकायाले गोल लाइनबाट बचाएको बललाई उनले गोल गरेकी हुन्।

यसपछि नेपालले बराबरी गोल फर्काउने मौका गुमायो। २८औँ मिनेटमा अनिषा राईको फ्रि किक प्रहार क्रसबारमा लागेर फर्कियो। ३६ औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर गर्‍यो। गोलकिपर सुजाता तामाङले बललाई राम्ररी समाउन नसक्दा सागोरिकाले गोल गरिन्।

दोस्रो हाफको सुरुवातमै दुवै टोली १०-१० खेलाडीमा सीमित भए । नेपालकी डिफेन्डर सिम्रन राई र सागोरिकाले एक अर्कामाथि मुक्का बर्साएपछि रेफ्रीले दुवैलाई रातो कार्ड देखाए।

नेपालले त्यसको केही समयमा पेनाल्टी पाएर खेलमा फर्कने अवसर पायो। अनिशा राईले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याइन्।

त्यसपछि ५ मिनेट बाँकी रहँदा काउन्टर अट्याकमा नेपालले बराबरी गोल गर्‍यो। पूर्णिमा राईको क्रसमा मिना देउवाले गोल गर्दै नेपाललाई २-२ को स्थितिमा पुर्‍याइन्।

तर बंगलादेशले इन्ज्युरी समयको १२ औँ मिनेटमा विजयी गोल गर्‍यो। श्रीमती तृष्णारानी सरकारले गोल गर्दै घरेलु टोलीलाई जित दिलाइन् ।

डबल राउन्ड रोबिनमा हुने च्याम्पियनसिपमा चार राष्ट्रको सहभागिता रहेको छ। पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको नेपालले अब श्रीलंकासँग खेल्नेछ। बंगलादेशले श्रीलंकालाई ९-१ ले हराएको थियो।

प्रकाशित: ३० असार २०८२ ७:०८ | Monday, July 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast