प्रधानमन्त्री केपी शर्मा ओली
                                            काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र सुलभ स्वास्थ्य सेवामा ध्यान केन्द्रीत गर्न आग्रह गरेका छन्।
सोमबार काठमाडौँमा भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन गर्दै सबै नागरिकलाई गुणस्तरीय र सुलभरुपमा स्वास्थ्य सेवा दिनुपर्ने बताएका हुन्।
उनले नेपाल सरकारले निरोगी नेपालको नाराका साथ काम गरेको उल्लेख गरे। सकभर बिरामी नहुने गरी आहार, बिहार र आराममा ध्यान दिनुपर्ने उनको भनाइ छ। उनले तीन हजार वर्षभन्दा ऋषि सुश्रुतले सर्जरी गरेको दृष्टान्त रहेको जिकिर गरे।
कार्यक्रममा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सामाजिक काममा अग्रपंक्तिमा रहेर काम गर्ने बताए। उनले आफूले गरेको सहयोगमा कुनै स्वार्थ नरहेको बताए।
सो क्रममा प्रधानमन्त्री ओली र भाटभटेनीका सञ्चालक गुरुङले नयाँ भवनको साँचो अस्पताल प्रशासनलाई हस्तान्तरण गरे। भाटभटेनीको सहयोगमा करिब ९ करोड ५० लाख रुपैयाँमा अस्पताल परिसरमा ई.एच.एस भवन निर्माण गरिएको हो।

                                             
                                             
                                             
                                             
                                             
                                             

