 नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी। फाइल तस्बिर।
                              नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी। फाइल तस्बिर। 
                                            काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० लामो समयदेखि संसदीय समितिमा अल्झिरहँदा शिक्षक, कर्मचारी तथा शिक्षा क्षेत्रका सरोकारवालाहरू आक्रोशित बन्दै गएका छन्। नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले विधेयक तत्काल पारित गराउन विभिन्न माध्यमबाट सशक्त दबाब सिर्जना गर्नुपर्ने बताएका छन्।
उनका अनुसार हाल देशका ठूला भनिने दलहरू शक्ति संघर्षमा अल्झिइरहेका छन् भने मुलुकको कानुन निर्माणजस्तो संवेदनशील विषयमा गम्भीर ध्यान नदिइएको स्पष्ट देखिन्छ। तिवारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘शिक्षा विधेयकजस्तो गम्भीर विषयमा दलहरू मौन छन् अनि मुलुकले कहिले निकास पाउँछ?’
उनले पछिल्लो केही दिनयता देखिएको राजनीतिक दृश्यतर्फ संकेत गर्दै दलहरूलाई होसमा आउन आग्रह गरेका छन्। अध्यक्ष तिवारीले जनताको धैर्यको सीमा सकिन लागेको उल्लेख गर्दै आगामी प्रतिनिधिसभा चुनावतर्फ संकेत गरेका छन्। ‘हामी जनता अब आउँदै गरेको २०८४ मा देखाउँछौं,’ उनले चेतावनी दिए।
शिक्षकहरूका संगठनहरू ठूला राजनीतिक दलहरूसँग आवद्ध भएको उल्लेख गर्दै उनले थपे, ‘नेपाल शिक्षक संघ (नेपाली कांग्रेस), नेपाल राष्ट्रिय शिक्षक संगठन (एमाले) र एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन (माओवादी केन्द्र) यी तीन दलसँग जोडिएका शिक्षकले बेलैमा निर्णय गर्नुपर्छ।’
दलको झोला बोकेर दौडधुप गरेर केही हुने अवस्था नरहेको भन्दै उनले राजनीतिक संलग्नता त्याग गर्न शिक्षकलाई आह्वान गरेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
 