काठमाडौँ- शनिबार रातिदेखिको वर्षाले देशका विभिन्न स्थानमा क्षति पुर्याएको छ। बाढी र पहिरोले असर पारेको छ भने जनधनको क्षति समेत भएका खबर आइरहेका छन्। आज (आइतबार) पनि बाढीको असर देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
आज काठमाडौँसहित विभिन्न जिल्लामा बाढीको जोखिम र उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले आज इलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, खोटाङ, ओखलढुंगा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुली, कास्की, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ, गोरखा, सल्यान, सुर्खेत र दैलेखमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘उच्च सम्भावना’ रहने जनाएको छ। यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ।
सोलुखुम्बु, रामेछाप, भोजपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, मकवानपुर, काभ्रेपलाञ्चोक, कपिलवस्तु, रूपन्देही, दाङ, बाँके, जाजरकोट, कालीकोट, डोटी, बाजुरा, अछाम, बझाङ, जुम्ला, बैतडी र डडेलधुरा भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ। यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको ‘मध्यम’ सम्भावना रहने महाशाखाले जनाएको छ।
यस दिन बिहानको मापनमा कोशीको सहायक तमोर र कन्काई नदीको जलसतह सतर्कता तह आसपास छ। नारायणी, कर्णाली, महाकाली, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाव सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ।



