‘रियाल रिङ्गेट’ को प्रिमियर हेरेपछि कलाकार भन्छन् : देशको पीडा पर्दामा झल्कियो

हिमाल प्रेस १५ साउन २०८२ १२:२७ | Thursday, July 31, 2025
‘रियाल रिङ्गेट’ को प्रिमियर हेरेपछि कलाकार भन्छन् : देशको पीडा पर्दामा झल्कियो

काठमाडौँ- यही शुक्रबार अर्थात् साउन १६ देखि प्रदर्शन हुने फिल्म ‘रियाल रिङ्गेट’ को उपत्यकामा प्रिमियर आयोजना गरिएको छ।

कार्यक्रममा फिल्म निर्माण टिमसहित विभिन्न कलाकार, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तिहरू उपस्थिति थिए। फिल्म हेरिसकेपछि अधिकांशले भावुक बनाएको र कथावस्तुले देशको पीडा बोलेको प्रतिक्रिया दिएका छन्।

इराकमा बन्धक बनाई हत्या गरिएका १२ नेपालीको घटना सम्झाउने गरी कथा प्रस्तुत गरिएको उनीहरूको प्रतिक्रिया थियो।

यही प्रसँगमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ भावुक बने। उनले भने, ‘यो फिल्म हेर्दा देश दुख्ने रहेछ। इराकमा १२ नेपाली मारिएको दिन म स्टेज कार्यक्रममा थिएँ, त्यो पीडा दर्शकहरूलाई देखाउन सकेको थिइन। ‘रियाल रिङ्गेट’हेर्दा त्यो दिन सम्झिएँ। राज्यले जाने ढोका मात्र खोल्ने होइन, फर्कने ढोका पनि खोल्नुपर्छ, देशमै फर्किने वातावरण बनाउनुपर्छ, नत्र लाखौँ नेपाली अझै पनि विदेश जान बाध्य भइरहनेछन् र फर्किने छैनन्।’

वरिष्ठ गायक प्रेमराजा महतले धेरैपछि नेपाली फिल्म हेरेको बताउँदै यसले देशको वर्तमान अवस्थाको चित्रण गरेको उल्लेख गरे। ‘धेरैपछि यसरी कुनै नेपाली फिल्म हेरेँ। फिल्मको कथा, अभिनय, संगीत सबै उत्कृष्ट छन्। राजनीतिज्ञहरूले पनि यो फिल्म हेर्नुपर्छ। यसले देशको वास्तविक अवस्था बुझ्न सहयोग पुर्‍याउँछ।’

फिल्ममा रोजगारीको खोजीमा खाडी मुलुक पुग्न बाध्य नेपालीहरूको पीडा र संघर्ष प्रस्तुत गरेको छ। फिल्मको नाममै कतार र साउदी अरेबियाको मुद्रा ‘रियाल’ र मलेसियाको ‘रिङ्गेट’समेटेर बनाइएकाे हाे।

फिल्मका निर्देशक विभोर पोखरेल हुन्। प्रदीप भारद्वाजको लेखन रहेको रेबेल फिल्म्सको ब्यानरमा बनेको फिल्मका निर्मातामा गगनलाल प्रधान छन्।

फिल्ममा प्रमोद चौलागाईं, नीता ढुंगाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायत कलाकारको अभिनय छ। चलचित्रको लेखन प्रदीप भारद्वाजले गरेका हुन्।

फिल्म भारतको राजस्थान, चितवन, काठमाडौँ र मोरङको लेटाङमा छायांकन गरिएको छ। हरि घलेले छायांकन गरेको फिल्म रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, विपिन मल्लको सम्पादन, राजीव समरको कोरियोग्राफीमा बनेको छ।

प्रकाशित: १५ साउन २०८२ १२:२७ | Thursday, July 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast