राम पौडेलको कथामाथि कोइराला, न्यौपाने र शरभको बहस

हिमाल प्रेस २८ असार २०८२ १४:२९ | Saturday, July 12, 2025
राम पौडेलको कथामाथि कोइराला, न्यौपाने र शरभको बहस

काठमाडौँ- ‘कलमका साथी’ ले साहित्यकार डा. राम पौडेलको नवीन कथा संग्रह ‘स्वरगङ्गा र पुङ्केशरहरू’  माथि अन्तरक्रिया गरेको छ। राजधानीमा शुक्रबार सम्पन्न कार्यक्रममा आयोजक संस्थाका सदस्यत्रय अनिता कोइराला, भारती न्यौपाने र शोभा शरभले कथामाथि बहस गरेका छन्।

कृतिको समीक्षा गर्दै अनिता कोइरालाले पौडेलका कथाले सामाजिक जीवनको विकृतिलाई चिरफार गरेको बताइन्। उनले प्रकृति र प्रणयदेखि अध्यात्मसम्मको गम्भीर विषय कथामार्फत प्रकट भएको स्पष्ट पारिन्।

समीक्षक भारती न्यौपानेले पौडेलका कथाहरू मनोवैज्ञानिक पृष्ठभूमिमा विकास भई चेतन प्रवाह शैलीमा विस्तार भएको टिप्पणी गरिन्। उनले प्रकृतिका पृष्ठाधारमा विकसित सामाजिक यथार्थ नै पौडेलको कथा लेखनको प्रवृत्ति बन्न पुगेको औँल्याइन्।

समीक्षक शोभा शरभले जीवनको वास्तविकता उजागर गर्न सक्षम पौडेलका कथाहरू संस्मरणात्मक शैलीको धरातलमा उभिएको विश्लेषण गरिन्। उनले शैलीगत जटिलताका कारण लेखकबाट पाठक टाढा भाग्ने तर्क राख्दै यस विषयमा सचेत हुन हरेक कथासर्जकलाई सुझाव दिइन्।

कथाकार पौडेलले सहरको विकृतिबाट भागेर मौलिकता उजागर गर्न कथाका माध्यमबाट जरामा पुगी रैथाने सिर्जना र ज्ञानमा डुबुल्की मारी कथाको धरातल निर्माण गरेको बताए। उनले विषय, विचार, शैली, शिल्प, भाषा र कथ्यमा नवीनता र मौलिकता खोज्ने क्रममा आफ्ना कथाहरू परम्पराभन्दा भिन्न बन्न पुगेको दाबी गरे।

भावकीय अभिमत राख्ने क्रममा वरिष्ठ पत्रकार हरिविनोद अधिकारीले कथाको नवीन शिल्पलाई सौन्दर्यका रूपमा ग्रहण गर्नुपर्ने बताए। प्रतिक्रियाकै क्रममा कथाकार डा. दीनबन्धु शर्माले शास्त्रीय शैलीको भाषिक विन्यास पौडेलको कथाशिल्पको सम्पत्ति बनेको ठहर गरे।

शालिग्राम शर्माले जटिल भाषाशैलीगत प्रस्तुति नै पौडेलको कथाको मिठास बन्न पुगेको प्रतिक्रिया दिए। ‘कलमका साथी’ ले लेखक नभई कृति चिन्ने अभिव्यक्ति दिँदै अध्यक्ष गीता रेग्मीले साहित्यमा वैचारिक विमर्श यस समूहको अभियान भएको जानकारी दिइन्।

सहजकर्ता डा. हेम भण्डारीले कथाकार पौडेललाई पर्यावरणीय चेतनाका धरातलमा मानव जीवनको यथार्थ खोतली शैलीगत नवीनताका साथ हिँड्न सफल कथाकारका रूपमा चिनाए।

पौडेलको यो पहिलो कथाकृति हो, जसमा १६ वटा कथा छन्।

प्रकाशित: २८ असार २०८२ १४:२९ | Saturday, July 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast