राप्रपा छाडेका सुवेदी ‘राप्रपाकै अनुशासन’ खोज्दै

हिमाल प्रेस २९ असार २०८२ १४:२७ | Sunday, July 13, 2025
राप्रपा छाडेका सुवेदी ‘राप्रपाकै अनुशासन’ खोज्दै

काठमाडौँ- राजसंस्थाको पक्षमा आन्दोलन गर्दै राप्रपा परित्याग गरेका ८६ वर्षीय नवराज सुवेदी पार्टीको अनुशासन समितिमा पुनःस्थापित हुन माग गर्दै निर्वाचन आयोग पुगेका छन्। उनी आफूलाई अन्याय भएको दाबी गर्दै आइतबार निर्वाचन आयोग पुगेका हुन्।

सुवेदीले २०८१ चैत ४ गते आफूले राप्रपा त्यागेको बताएका थिए। उनले त्यसबेला भनेका थिए, ‘म आजैका मितिदेखि राप्रपाको साधारण सदस्य रहन्नँ, राजा ल्याउन लाग्छु।’

सुवेदीले एक कदम अघि बढेर राप्रपा परित्याग गरेपछि आफ्नो जोडबल राजा फर्काउन लगाउने बताएका थिए । त्यही दिन उनले निकालेको वक्तव्यमा पनि राजसंस्थाका लागि नवीन समझदारी चाहिने बताएका थिए ।

संयुक्त जनआन्दोलन समितिको संयोजक रहेर सुवेदीले राजावादी आन्दोलन अघि बढाए। तर आन्दोलन निर्णायक बीचमै अलमलियो। अहिले तिनै सुवेदी आफैँले त्यागेको पद खोज्न थालेका छन्। उनी राप्रपाको अनुशासन समितिको प्रमुख र सदस्यता रहनुपर्ने अडानमा छन्। यतिमात्र होइन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूखुसी राप्रपाको सदस्यता लिएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका छन्।

उनले आफूमाथि प्राकृतिक न्यायविपरीत व्यवहार भएको दाबी गरे। ‘निर्णय गर्नुअघि मलाई सोध्नुपनि पर्थ्यो। मलाई सोधिएको पनि छैन। मलाई चिठी लेखेर दिइएको पनि छैन,’ सुवेदीले भने, ‘मैले त खाली मिडियाबाट थाहा पाएँ कि उहाँले मलाई निकाल्नुभयो र अर्को मान्छे ल्याउनुभयो भनेर। त्यसैले निर्वाचन आयोगमा उजुरी दिन आएको हुँ।’

निर्वाचन आयोगमा पत्रकारहरुले सुवेदीलाई ‘राप्रपा छाडेँ भन्नुभएको होइन र?’ भनेर प्रश्न गरे। तर सुवेदीले आफ्नो अभिव्यक्तिलाई अलग सन्दर्भमा बुझ्न नहुने बताए। ‘त्यो भाषणको अगाडि र पछाडि पढ्नुपर्छ। त्यो भाषणको आसय संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र र हिन्दु राष्ट्रको निम्ति म जुनसुकै बलिदान दिन पनि तयार छु । इभन मैले मेरो पार्टीबाट राजीनामा दिनुपर्‍यो, छोड्नुपर्‍यो भने पनि म तयार छु। तर यो कद (संघर्ष) म छोड्दिनँ भनेको थिएँ,’ उनले भने, ‘अघिपछिको सबै कुरा हटाएर बीचमा उहाँहरूको सुविधाअनुसार त्यही प्रसंग  मात्र आयो।’

उनले आफूले पार्टी अनुशासनविपरीत कुनै गतिविधि नगरेको दाबी गरे। ‘मैले पार्टी बलियो होस्, षड्यन्त्र नहोस् भनेर आवाज उठाएको हुँ,’ सुवेदीले भने, ‘राप्रपा फुट्दैन। तर आन्तरिक अन्यायको विरोध गर्नुपर्छ।’

राजावादी आन्दोलन कमजोर हुँदै गएको टिप्पणीप्रति पनि उनले असहमति जनाए। ‘राजावादी आन्दोलन हराएको छैन, त्यो त गडगडाएर आउँछ,’ उनले भने, ‘यो आन्दोलन राप्रपाले मात्रै होइन, ४४/४५ वटा संगठनले मिलेर चलाएको हो।’

प्रकाशित: २९ असार २०८२ १४:२७ | Sunday, July 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast