राप्रपामा मध्यस्त बन्दै प्रदीप उदयको अपिल : देवत्वकरण र दानवीकरण गर्न छाडौँ, नयाँ यात्रा सुरु गरौँ

हिमाल प्रेस ३१ असार २०८२ ९:०६ | Tuesday, July 15, 2025
राप्रपामा मध्यस्त बन्दै प्रदीप उदयको अपिल : देवत्वकरण र दानवीकरण गर्न छाडौँ, नयाँ यात्रा सुरु गरौँ

काठमाडौँ- पछिल्लो समय किचलो बढिरहेको राप्रपामा नेताहरू ध्रुवीकृत हुने क्रम जारी छ। संस्थापन मानिएको राजेन्द्र लिङ्देन पक्षधर र इतर मानिएको धवल शमशेर जबराबीच
गुटगत प्रवृत्ति बढेको छ।

इतरपक्षकै समर्थन पाएका पुराना नेता नवराज सुवेदी र सगुन सुन्दर लावती संस्थापनले विधि भत्काएर पद खोसेको आरोप लगाउँदै निर्वाचन आयोग पुगेपछि विवाद बाहिर आएको छ।

राजसंस्था पुन स्थापनाका लागि गठित समितिको संयोजक रहेका सुवेदीले राप्रपा छाडेको घोषणा गरेपछि संस्थापनले उनी अध्यक्ष रहेको अनुशासन समितिको जिम्मेवारी उपाध्यक्ष रोशन कार्कीलाई दिइएको थियो। लावतीलाई भने लिङ्देनले प्रवक्ता मोहन श्रेष्ठको हस्ताक्षरमा विज्ञप्ति निकाल्दै प्रवक्ताको जिम्मेवारीबाट हटाएको जानकारी दिएका थिए।

राप्रपामा जिम्मेवारी फेरबदल, बर्खास्ती र नयाँ नयुक्तिले दुईधार बनेको छ। यसैबेला फिल्मकर्मी समेत रहेका राप्रपा नेता प्रदीपकुमार उदयले पार्टीभित्र देवत्वकरण र दानवीकरण गर्न छाडेर
पार्टी निर्माणमा लाग्न अनुरोध गरेका छन्। राप्रपाको लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका उदयले पार्टीको लेडरप्याडमा सबैलाई विवादबारे सघन छलफल गर्न अपिल गरेका छन्।

उनले राप्रपा पुरानो र नयाँ पुस्ताको संगम रहेको भन्दै विगतका कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने बताएका छन्। यदि नयाँ पुस्ताले राप्रपा अघि नबढाएको भए राप्रपा इतिहासमा सीमित हुने बताएका छन्।

उनले आशा भरोसा देखाएका बेला किचलो गर्न नहुने बताएका छन्। ‘अब पनि हामीमा चेत नपलाउने हो भने पुरानो र नयाँ पुस्ताको भविष्य अन्धकार हुन्छ। ठूला दल भनाउँदाको अकर्मण्यताले आकान्त भएर जनताले विकल्प खोजिरहेका छन्’ उनले भनेका छन्,’जनता र देशको हितमा कार्ययोजना अघि सार्नुपर्ने थियो।’

उनले नेताहरूलाई सबै खेल बन्द गर्न र सामाजिक सञ्जालमा अपाच्य भाषा प्रयोग रोक्न अनुरोध गरेका छन्। उदयले बैठक बसेर सबैलाई एकताको सन्देश दिन पनि अनुरोध गरेका छन्।

प्रकाशित: ३१ असार २०८२ ९:०६ | Tuesday, July 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast