म्याग्दीको दोवामा निहुरो बिक्रीबाटै भित्रन्छ वार्षिक ३० लाख नगद

हिमाल प्रेस १४ साउन २०८२ १५:२४ | Wednesday, July 30, 2025
म्याग्दीको दोवामा निहुरो बिक्रीबाटै भित्रन्छ वार्षिक ३० लाख नगद

म्याग्दी- जंगलमा पाइने निहुरोले बजार पाउन थालेपछि आम्दानीको माध्यम बनेको छ। केही वर्षअघिसम्म जंगलमा कुहिएर खेर जाने निहुरो बिक्री हुन थालेपछि ग्रामीण क्षेत्रका बासिन्दाले आम्दानीको स्रोत बनाउन थालेका हुन्।

अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडाध्यक्ष दिलीप गर्बुजाले सडक, यातायात र ढुवानीको सुविधा भएपछि निहुरोले बजार पाएको बताए। ‘बर्खेबाली लगाएर फुर्सदीला बनेका गाउँले साउन र भदौमा दैनिकजसो जंगलबाट टिपेर ल्याएको निहुरो गाडीवालालाई बेच्छन्’, उनले भने, ‘गाडीवालाले गाउँबाट यात्रुसँगै निहुराे बोकेर बजार पुर्‍याउँछन्।’

दोवामा निहुरोबाट वार्षिक रु २५ देखि ३० लाख नगद भित्रने गरेको वडाध्यक्ष गर्बुजाले बताए। दोवाकी निहुरो संकलक मायाकुमारी पुनले प्रतिकिलो रु ६५ देखि ७० मा गाउँबाटै निहुरो बिक्री हुने गरेको बताइन्। ‘कुहिएर खेर गइरहेको निहुरो हाम्रा लागि आम्दानीको स्रोत बनेको छ’, उनले भनिन्, ‘फुर्सदको समय सदुपयोगका साथै घरखर्च चलाउने आम्दानी जुटाएका छौँ।’

दोवाका साथै दग्नाम, चिमखोला, पात्लेखेत, मुना र हिदीबाट बेनी आउने गाडीले दैनिक ५०० किलोग्राम निहुरो बेनीमा ल्याउने गरेका व्यापारीले बताएका छन्। बेनीका तरकारी तथा फलफूल व्यवसायी देवेन्द्र सुवेदीले गाउँबाट आउने निहुरो बागलुङ, कुश्मा र काठमाडौँ पठाउने गरेको बताए।

‘बेनी आइपुग्दा प्रतिकिलो दौडेको मूल्य रु १०० देखि रु १२० सम्म पर्छ’, उनले भने, ‘गत वर्ष दैनिक एक हजार किलोग्राम निहुरो आउने गरेको थियो। यसपालि गाउँबाट गत वर्षको तुलनामा आधा मात्रै निहुरो आएको छ। माग धान्न सकिएको छैन।’

प्रकाशित: १४ साउन २०८२ १५:२४ | Wednesday, July 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast