‘मुनामदनको ब्रेकअप’ गराउँदै निर्देशक दीपेन्द्र, टिममा काेकाे छन्?

हिमाल प्रेस २९ असार २०८२ १६:२९ | Sunday, July 13, 2025
‘मुनामदनको ब्रेकअप’ गराउँदै निर्देशक दीपेन्द्र, टिममा काेकाे छन्?

काठमाडौँ- ‘मुनामदनको ब्रेकअप’ नामक फिल्मको घोषणा भएको छ। दीपेन्द्र लामाको निर्देशन, सामीप्यराज तिमल्सेनाको पटकथा र श्रीधर पौडेल कार्यकारी निर्माता रहने गरी आइतबार फिल्मको औपचारिक घोषणा गरिएको हो।

रंग पत्रकारिता पृष्ठभूमिका लामा, तिमल्सेना र पौडेलबीच २०७५ सालको फिल्म ‘गोपी’ पछि पुनः सहकार्य गर्न लागेको छन्।

फिल्ममा कलाकार राज कटवाल अनुबन्धित भइसकेका छन्। कटवालले पछिल्लोपटक फिल्म ‘नरसिंहा अवतार’मा अभिनय गरेका थिए।

अन्य कलाकारको विषयमा टिमसँग छलफल भइरहेको र केही दिनभित्र टुंगो लाग्ने निर्देशक लामाले बताए। ‘फिल्मको पटकथामा सुहाउँदो भएकाले कटवाललाई अनुबन्धित गरेका हौँ, बाँकी कलाकार पनि कथा र चरित्र अनुकूल हुनेगरी छान्ने योजना छ,’ लामाले भने।

उनले फिल्म ‘घामपानी’ देखि ‘दुखी आत्मा’ सम्म ६ वटा फिल्म निर्देशन गरिसकेका छन्। ‘मुनामदनको ब्रेकअप’ एक मनोरञ्जनात्मक फिल्मकाे रुपमा तयार पार्ने लामाकाे तयारी छ।

लेखक तिमल्सेनाले फिल्ममा ग्रामीण परिवेशसँगै फरक स्वादको प्रेमकथा हेर्न पाइने बताए। ‘पछिल्लो समय नेपाली फिल्ममा हेरिँदै आएकाभन्दा भिन्न प्रेमकथा यसमा प्रस्तुत गरिनेछ,’ तिमल्सेनाले भने, ‘अहिले दर्शकलाई हलसम्म तान्न धेरै नै मुश्किल छ, त्यसकारण पटकथामा सक्दो मिहेनत गर्नेछौँ।’

अभिनेता कटवाल ‘मुनामदनको ब्रेकअप’ लाई लिएर एकदमै उत्साहित भएको बताए । ‘अघिल्ला अभिनयमा भन्दा यसमा थप परिष्कृत देखिन आफूलाई निखार्न खोज्दैछु,’ कटवालले भने। फिल्मको भूमिका आफ्नो लागि चुनौतीपूर्ण रहेको उनको बुझाइ छ।

कार्यकारी निर्माता पौडेलले कास्कीको ग्रामीण भेगमा फिल्मको छायांकन गरिने बताए। ‘पटकथा र प्रि–प्रोडक्सनको काम पर्फेक्ट भएपछि मात्र छायांकनमा निस्किनेछौँ। हामी राम्रो प्रोडक्ट निकाल्न धैर्यका साथ काम गर्नेछौं,’ उनले भने।

प्रकाशित: २९ असार २०८२ १६:२९ | Sunday, July 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast