फाइल तस्बिर
                                            काठमाडौँ– मधेशको मिथिला क्षेत्रमा अहिले झुला महोत्सवको माहोल छ। साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म चल्ने पर्व आइतबार साँझ सुरु भएको हो।
विष्णुलक्ष्मी भक्तिको यो पर्व घरघरै नभएर मठ मन्दिरमा सामुहिक रुपमा मनाइन्छ। विष्णु लक्ष्मीका अवतार मानिने राम सीता र कृष्ण राधाका प्रतिमालाई विशेष झुला (कोक्रा, एकप्रकारको कलात्मक पिङ्मा) भुलाउनु (हल्लाउनु) नै यस पर्वको मुख्य विधि हो। झुलामा राखिएका प्रतिमालाई डोरी समाएर झुला गीत गाउँदै श्रद्धालुले हल्लाउने गर्छन्।
जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, अग्निकुण्ड, बिहारकुण्डलगायतका मन्दिरका साथै अन्य मठमन्दिरहरूमा विधिपूर्वक झला पर्व सुरू भएको हो। त्यस्तै महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरबाट लक्ष्मीनारायणका प्रतिमा डोलीमा राखेर बजागाजासाथ झुलाघर पु¥याएर पर्व सुरु गरिएको छ।
जनकपुर र आसपासका प्रत्येक मठमन्दिरमा झुलाका लागि सिंहासन निर्माण गरी सजाइएको गद्दीमा रामसीताको प्रतिमा राखी झुलाउने परम्परा रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशनदास बताउँछन्।
यो पर्वमा आम सर्वसाधारण आफ्नो बस्ती नजिकको मठ वा मन्दिरमा भेला भई भजनकीर्तन गाउँदै सीताराम र राधाकृष्णका प्रतिमा राखिएका झुला हल्लाउँदै नाच्दै भक्तिमा नाच्छन्।
मिथिलाको सांस्कृतिक पर्वका रुपमा चिनिने झलनोत्सव साउन तृतियादेखि पूर्णिमा सम्म मनाइन्छ। झुलनोत्सवको सुरुवात सन्त परम्पराको प्रारम्भदेखि नै भएको पौराणिक मान्यता रहेको छ।
सन्तहरु खुला चौर वा रुखको छहारीमा बास बसी झोलामा ल्याएको शालिग्रामलाई आसनमा राखी झुलाउने गरेको जनविश्वासको आधारमा मिथिलामा अहिलेसम्म पनि झुलनोत्सवलाई निकै महत्वका साथ हेरिएको संस्कृतिविद् डा. राजेन्द्र विमलको भनाइ छ।
मिथिलाको प्रत्येक मठ मन्दिरमा झुलनोत्सव मनाइए पनि जानकी मंदिर, राम मंदिर, लक्ष्मण मंदिर, रत्न सागर र अग्निकुण्ड भने आकर्षणको केन्द्र बन्ने गरेको छ।
झुला उत्सवमा मिथिलाको लोकलयमा झुला, मलार र कजरी गीत गाइने चलन छ। झुलनोत्सव भनिने यो पर्व प्राचीन मिथिलाक्षेत्रका सबैतिर मनाइए पनि महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ र मन्दिर एवं जनकपुरस्थित जानकी मन्दिरको निकै प्रसिद्ध छ।
मिथिलामा यो पर्व राम जन्मभूमि अवध (अयोध्या) र कृष्णको बाललीलास्थल मानिने वृन्दावनबाट देखासिकीबाट भित्रिएको विश्वास गरिन्छ। प्राचीन मिथिलाको राजधानी जनकपुरधाम सीताको माइती भएका हुँदा ज्वाइँलाई प्रसन्न गराउनपर्ने मैथिल परम्पराअनुसार यो पर्व मनाउन विसं १७८७ तिर सन्त सुरकिशोर दासले सुरु गराएको लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णव बताउँछन्।
जनकपुरमा रामसीताको विवाह हुँदा राजा जनकले दाइजोमा दिएको हिरा, रत्न र मणिमाणक्यको थुप्रो लागेको र त्यो पहाडजस्तै बनेको बताइन्छ। अहिले मणिपर्वत भनिने यो ठाउाँ जनकपुरस्थित जानकी मन्दिरबाट करिब पाँच किलोमिटर उत्तरपश्चिममा अवस्थित छ। साउन शुक्ल तृतीयाका दिन यसै मणिपर्वतको पूजा गरेर झुला पर्व सुरु गरिने मिथिला परम्परा छ।
महोत्तरीको मटिहानीमा छुट्टै झुलाघर निर्मित छ। जहाँ लक्ष्मीनारायण मठ र मन्दिरबाट विष्णुलक्ष्मी प्रतिमा डोलीमा बोकेर ल्याइ झुलामा भुलाइन्छ।
मटिहानीमा अहिले जिल्लाका र सीमावर्ती भारतका दर्जनौ मठमन्दिरका प्रतिमा झुलाका लागि ल्याइएका छन्। पर्वभरि साधुसन्त केन्द्रमा जम्मा भई पर्वमा रमाउँछन्।
झुला पर्व मनाउन विगतमा नेपालका विभिन्न जिल्लाका साथै छिमेकी भारतबाट ठूलो संख्यामा श्रद्धालुहरू आउने गरे पनि पछिल्लो समय यसमा ह्रास आएको छ। सर्वसाधारणको व्यस्तता, संस्कृति जगेर्नातर्फ चेतनाको कमी लगायतका कारणले विगतको जस्तो यो पर्वमा श्रद्धालु आउने संख्या घट्दै गएको जनकपुरस्थित राम युवा कमिटीका पूर्वअध्यक्ष प्रमोद चौधरी बताउँछन्।
साउन पूर्णिमाका दिन झुलनाको डोरी चुडालेर पर्व समापन गरिने मैथिल परम्परा छ।



