महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक विवादमा, कप्तान चयनमा एकतर्फी गरेको आरोप

हिमाल प्रेस २५ असार २०८२ १८:०८
महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक विवादमा, कप्तान चयनमा एकतर्फी गरेको आरोप प्याट्रिक डे वाइल्ड

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डका कारण कप्तान चयनमा विवाद भएको जनाएको छ।

एएफसी एसियन कप छनोट खेल्न उज्बेकिस्तान गएको नेपाली टोलीका अफिसियलहरुले बुधबार एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै कप्तान चयनमा प्रमुख प्रशिक्षक प्याट्रिक एकतर्फी ढंगले अघि बढ्दा विवाद भएको जनाएका हुन्।

टीम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले काठमाडौँमा नै खेलाडी विदाई कार्यक्रममा नै टीम कप्तान चयन गर्न प्रस्ताव गर्दा प्याट्रिकले असहमति जनाएको बताइन्।

उनले एएफसी एसियन कप छनोटको पहिलो खेलको केही समयअघि समेत कप्तानसहितको टिम लिस्ट नआएपछि आफूहरुले पटक–पटक आग्रह गर्दा ५ मिनेटअघि मात्रै टिमको नाम लिस्ट आएको जिकिर गरिन्।

तर त्यसमा कप्तानको नाम नभएकाले सिनियर खेलाडीको रुपमा रेनुका नगरकोटीको नाम राखेर लिस्ट एएफसीलाई पठाएको उनले बताइन्। त्यसपछि आर्मब्यान्ड लगाउन खोज्दा प्रशिक्षकले रोकेर साम्बा कप्तान भएको जानकारी गराएको श्रेष्ठले बताइन्। उनले साम्बालाई कप्तान बनाउँदा आफूहरुलाई कुनै आपत्ति नहुने भए पनि प्रशिक्षक प्याट्रिकले किन त्यस्तो गरे भन्न बुझ्न नसकेको धारणा राखिन्।

उनले प्रशिक्षक प्याट्रिक नेपाल फर्कने वा नफर्कने भन्ने बारेमा अनभिज्ञ रहेको बताइन्। नेपाली टीमका व्यवस्थापकसँग प्याट्रिकले आफ्नो पारिश्रमिक माग्नका लागि भनिदिन समेत आग्रह गर्ने गरेको श्रेष्ठको भनाइ छ।

प्रकाशित: २५ असार २०८२ १८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast