महँगीले जीवन कष्टकर, श्रमिकको पारिश्रमिक बढाउन महासंघको माग

हिमाल प्रेस १ साउन २०८२ १४:१६ | Thursday, July 17, 2025
महँगीले जीवन कष्टकर, श्रमिकको पारिश्रमिक बढाउन महासंघको माग

काठमाडौँ- नेपाल समाजवादी ट्रेड युनियन महासंघले हालको महँगी, उच्च मुद्रास्फीति र श्रमिक वर्गको जीवनस्तरमा आएको गिरावटप्रति सरकारको ध्यानाकर्षण गराएको छ।

महासंघले न्यूनतम पारिश्रमिकको तत्काल पुनरावलोकन गरी कम्तीमा ३३ हजार रुपैयाँ तोक्न सरकारलाई चेतावनी दिँदै माग सम्बोधन नभए श्रमिकहरू आन्दोलनमा उत्रन बाध्य हुने बताएको छ।

महासंघका अध्यक्ष विष्णु प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धिले श्रमिक वर्गको दैनिकी अत्यन्तै कष्टकर बन्दै गएको छ। न्यून आम्दानीमा गुजारा गर्न बाध्य श्रमिकहरूको अवस्था सरकारको बेवास्ताका कारण झनै दयनीय बन्दै गएको महासंघको आरोप छ।

श्रम ऐनअनुसार हरेक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गरिनुपर्ने स्पष्ट प्रावधान भए तापनि सरकारले तोकिएको म्याद नाघ्दासमेत आवश्यक कदम नचालेको महासंघको भनाइ छ। विज्ञप्तिमा भनिएको छ, ‘सरकार भ्रष्टाचार, कमिसनतन्त्र र सत्ताको भोगविलासमा रमाइरहेको देखिन्छ। श्रमिकका जीवनसँग प्रत्यक्ष जोडिएका विषयहरू उपेक्षित भइरहेका छन्।’

महासंघले पारिश्रमिक निर्धारण समिति र निजी क्षेत्र अझै पनि गम्भीर नभएकोप्रति खेद व्यक्त गर्दै वर्तमान आर्थिक संकटलाई मध्यनजर गर्दै श्रमिकहरूको आधारभूत अधिकारको रक्षा, सामाजिक सुरक्षाको प्रत्याभूति र श्रम शोषण अन्त्यका लागि ठोस र तत्काल कदम चाल्न सरकारलाई आग्रह गरेको छ।

विज्ञप्तिमा थप भनिएको छ, ‘यदि श्रमजीवी वर्गका संवेदनशील र आधारभूत मागहरू प्रति सरकार तथा सरोकारवाला निकाय गम्भीर नभए महासंघ श्रमिक अधिकार रक्षाका लागि संघर्षमा उत्रन बाध्य हुनेछ।’

प्रकाशित: १ साउन २०८२ १४:१६ | Thursday, July 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast