मन्त्री पन्त र कोरियाली राजदूतबीच भेटवार्ता, शिक्षा क्षेत्रको सहकार्यबारे कुराकानी

हिमाल प्रेस १४ साउन २०८२ १५:५८ | Wednesday, July 30, 2025
मन्त्री पन्त र कोरियाली राजदूतबीच भेटवार्ता, शिक्षा क्षेत्रको सहकार्यबारे कुराकानी

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क ताए योङबीच मन्त्रालयमा भेटवार्ता भएको छ। भेटका क्रममा राजदूत पार्कले कोरियाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै नेपालसँगको सहकार्यलाई थप विस्तार गर्न इच्छुक रहेको बताए।

त्रिभुवन विश्वविद्यालय, काठमाडौँ  विश्वविद्यालयलगायत पाँच विश्वविद्यालयहरूसँग कोरियाले सहकार्य गरिरहेको बताउँदै उनले नर्सिङ शिक्षामा समेत कोरियाको सहयोग रहेको जानकारी दिए। साथै, इपिएस प्रणालीमार्फत कोरिया जाने जनशक्तिलाई लक्षित गर्दै विश्वभाषा क्याम्पसमा प्रशिक्षक तालिम कार्यक्रम सञ्चालन भइरहेको पनि जानकारी गराए।

राजदूतले नेपाली विद्यार्थीहरू सक्षम र मेधावी रहेको जनाउँदै उनीहरूको क्षमताको प्रयोगबाट नेपालको विकास सम्भव हुने धारणा व्यक्त गरे। साथै, कोरियामा सबैभन्दा रुचाइने श्रमिकका रूपमा नेपाली कामदारहरू रहेको बताउँदै दक्ष जनशक्तिको उत्पादनमा सिटिईभिटीसँगको सहकार्यलाई कोरियाले निरन्तरता दिइरहेको बताए।

कोरियामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीको भिसा हाल अस्थायी रूपमा स्थगित भएकोप्रति चासो व्यक्त गर्दै उनले विद्यार्थी तथा विश्वविद्यालय दुवै पक्ष प्रतीक्षारत रहेको बताए।

जवाफमा मन्त्री पन्तले केही अनियमितता र गुणस्तरसम्बन्धी विषय उठेका कारण डी-२ र डी-४ श्रेणीका विद्यार्थी भिसा हाल स्थगित गरिएको प्रस्ट पारे। उनले शिक्षा क्षेत्रमा सहकार्यका लागि नेपाल सरकार सदैव तयार रहेको जनाउँदै नेपाल–कोरिया सम्बन्ध अझ प्रगाढ हुनेमा विश्वास व्यक्त गरे।

मन्त्री पन्तले कोरियाको सफ्टवेयर विकास, सांस्कृतिक प्रभाव र सामाजिक संरचनालाई सराहना गर्दै कोरियाबाट नेपालले सिक्न सक्ने धेरै पक्षहरू रहेको बताए। साथै, सूचना प्रविधि र प्राविधिक जनशक्ति विकासका क्षेत्रमा दुवै मुलुकबीच सहकार्यको सम्भावना रहेकोमा जोड दिए।

उक्त भेटमा मन्त्री पन्तले इपिएसमार्फत कोरिया जाने नेपाली कामदारप्रति आफ्नो जानकारी रहेको बताउँदै गर्दै फर्किएका कामदारहरूले नेपालमा उदाहरणीय कार्य गरिरहेको स्मरण गरे।

प्रकाशित: १४ साउन २०८२ १५:५८ | Wednesday, July 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast