मन्त्रीहरू देश लुट्न लाजै मान्दैनन् : चित्रबहादुर केसी

हिमाल प्रेस २९ असार २०८२ १५:२५ | Sunday, July 13, 2025
मन्त्रीहरू देश लुट्न लाजै मान्दैनन् : चित्रबहादुर केसी चित्रबहादुर केसी

काठमाडौँ- जनमोर्चाका सांसद चित्रबहादुर केसीले सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा रहेको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सम्बोधन गर्दै उनले दलहरू भ्रष्टाचारमा लिप्त हुँदा गणतन्त्रविरोधी शक्ति अगाडि आउन खोजेको बताएका हुन्।

उनले भने, ‘सत्ता र सरकारमा मन्त्रीहरू भ्रष्टाचार गर्न, देश लुट्न, घुस खान लाजै नमान्ने भएपछि नेपाली जनतालाई यो लोकतन्त्र आवश्यक छैन, गणतन्त्र आवश्यक छैन भनेर व्यापक रूपमा देशभरि प्रचार गर्ने तत्त्वहरूलाई बल पुगेको छ।’

उनले सत्तामा शक्तिमा बस्नेहरूको काम राष्ट्र र जनताको काम नभएर घुस खान र भ्रष्टाचार गर्नमा सीमित रहेको बताए।

पुराना दलले देश बिगारे, घुस खाए भनेर घण्टी बजाउँदै आएकाको हालत पनि देखिएको बताउँदै केसीले भने, ‘अहिले देशभरि हस्ताक्षर अभियान चलिरहेको छ। अभियान किन चलेको रे भने अर्बौँ सहकारीको बचत रकम हिनामिना गरेको होइन, यी सत्ताधारीहरूले लगाएको आरोप हो भनेर।’

उनले सत्ताधारी कुनै पनि दल चोखा नरहेको बताए। ‘२० सिटको मायाले अहिलेका सत्ताधारीहरूले बदमासी गरेका हुन्’, केसीले भने। लोकतन्त्र र गणतन्त्र सकियो भने मुलुकमा अनिष्ट हुने उनको भनाइ छ।

केसीले भने, ‘जसरी प्यालिस्टिनी जनताले ७५ वर्षदेखि आफ्नो मातृभूमि छोडेर ठूला शक्तिको विरुद्धमा मर्न परिरहेको छ, नेपाल त्यो स्थितिमा जान सक्छ। शक्ति केन्द्रहरूले नेपाललाई गाजाको स्थितिमा पुर्‍याउनन सक्छन्।’ उनले सत्ता र शक्तिमा बसेका साथीहरूले आफ्नो सीमित स्वार्थलाई ध्यानमा राख्न नहुने बताए।

प्रकाशित: २९ असार २०८२ १५:२५ | Sunday, July 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast