मधेश प्रदेशमा हालसम्म ३५ प्रतिशत धान रोपाइँ

हिमाल प्रेस २९ असार २०८२ २१:३३ | Sunday, July 13, 2025
मधेश प्रदेशमा हालसम्म ३५ प्रतिशत धान रोपाइँ फाइल तस्बिर

जनकपुरधाम– आकाशेपानीको अभावमा मधेश प्रदेशमा असारको हालसम्म ३५ प्रतिशतमात्र धान रोपाइँ भएको छ। मधेश प्रदेश कृषि विकास निर्देशनालयले लामो समयदेखि पानी नपरेकाले भूमिगत सिँचाइको माध्यमबाट किसानले धान रोपाइँ गरिरहेको जनाएको छ।

खोला, नदी तथा नहरहरूमा पानीको सतह कम भएकाले सिँचाइ हुन नसक्दा डिपट्युवेल, स्यालोटयुवेल तथा बोरिङको पानीबाट धान रोपाइँ भइरहेको हो। हालसम्म ८० प्रतिशतभन्दा बढी धान रोपाइँ भइसक्नुपर्नेमा यसपटक पानी अभावले ३५ प्रतिशत मात्र रोपाइँ भएको निर्देशनालयका वागवानी अधिकृत प्रदीप यादवले बताए।

मधेश प्रदेशमा तीन लाख ७२ हजार ५४५ हेक्टर जमिनमा धानखेती हुँदै आएकोमा हालसम्म एक लाख २७ हजार हेक्टरमा रोपाइँ भएको उनले जानकारी दिए। हालसम्म पर्सामा ७५ प्रतिशत, बारामा ४१ प्रतिशत, रौतहटमा ४५, महोत्तरीमा १९, धनुषामा २६, सिरहामा ३०, सप्तरीमा १७ प्रतिशत मात्र धान रोपाइँ भएको छ।

मधेश प्रदेशमा पाँच लाख ४२ हजार पाँच सय ८० हेक्टर खेतीयोग्य जमिन रहेको छ, जसमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टर जमिनमा धानखेती हुँदै आएको निर्देशनालयले जनाएको छ।

विभिन्न नदी, नाला तथा खोलाको पानीबाट ३० प्रतिशत मात्र खेती सिँचाइ हुँदै आएको जनाइएको छ।

प्रकाशित: २९ असार २०८२ २१:३३ | Sunday, July 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast