भौतिकमन्त्री दाहालको एक वर्ष : १०५ पुल र ९३२ किलोमिटर सडक निर्माण

हिमाल प्रेस २ साउन २०८२ १५:१८ | Friday, July 18, 2025
भौतिकमन्त्री दाहालको एक वर्ष : १०५ पुल र ९३२ किलोमिटर सडक निर्माण भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वर्तमान सरकारको एक वर्षमा १०५ वटा पक्की पुल निर्माण सम्पन्न तथा १० वटा बेलीबृज जडान भएको जानकारी दिएका छन्।

पछिल्लो एक वर्षको आफ्नो कार्यकालमा भएको कामकारवाहीका विषयमा जानकारी दिन शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री दाहालले एक वर्षको अवधिमा ९३० कि.मि. कालोपत्रे गर्ने लक्ष्य रहेकोमा ९३२ कि.मि. कालोपत्रे सम्पन्न, १५० वटा पुल निर्माण गर्ने लक्ष्य रहेकोमा १०५ वटा पक्की पुल निर्माण सम्पन्न तथा १० वटा बेलीबृज जडान भएको जानकारी दिएका हुन्।

मन्त्रालयले यस अवधिमा रुग्ण आयोजनाहरुको पहिचान र व्यवस्थापनलाई प्रमुख प्राथमिकता दिएर काम गरेको उनले बताए। उनले आयोजनाहरु सुरु हुने तर पूरा नभई अलपत्र हुने परिपाटीको अन्त्यका लागि समिति गठन गरिएको र सो समितिले अध्ययन गरी दिएको प्रतिवेदन कार्यान्वयन गरी रुग्ण ठेक्काको संख्या उल्लेख्य मात्रामा घटाइएको जानकारी दिए।

सवारी चालक अनुमतिपत्र छपाई प्रदेशस्तरबाटै शुरुवात गर्न विषयगत समितिको बैठकबाट निर्णय भईसकेको भन्दै अब लामो समयसम्म अनुमतिपत्र नपाइने समस्याको अन्त्य हुने दाबी गरे।

यसैगरी छपाई गरी वितरण गर्न बाँकी सवारी चालक अनुमतिपत्र छपाईका लागि सुरक्षण मुद्रण केन्द्रसँग समझदारी भइसकेको उनले जानकारी दिए। समुद्रमा नेपाली झण्डावाहक पानी जहाज सञ्चालन गर्ने नेपालीको सपना पनि अब साकार हुने दिशा तर्फ अघि बढेको भन्दै उनले यसका लागि पानी जहाज विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा पेस भएको जिकिर गरे।

त्यस्तै मन्त्री दाहालले बाढीका कारण क्षतिग्रस्त रसुवाका सडक सञ्जालका लागि ट्रयाक खोल्ने काम भइरहेको जानकारी दिए। नागढुंगा सुरुङमार्गअन्तर्गत टनेल संरचनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न भई अन्य प्रक्रिया जारी रहेकाले आगामी कार्तिकबाट सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ।

त्यस्तै मन्त्री दाहालले रेलमार्ग विस्तारकालागि बर्दिवास क्षेत्रमा देखिएको मुआब्जा तथा क्षतिपूर्तिको समस्या समाधानका लागि काम अघि बढाइएको धारणा राखे। बर्दिवास–चोचा रेलमार्ग खण्डमा ३ वटा रेलपुल निर्माण कार्य सम्पन्न भईसकेको उनले बताए।

प्रकाशित: २ साउन २०८२ १५:१८ | Friday, July 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast