भक्तपुर अस्पतालमा सुरु भयो डायलासिस सेवा

हिमाल प्रेस १४ साउन २०८२ २०:५९ | Wednesday, July 30, 2025
भक्तपुर अस्पतालमा सुरु भयो डायलासिस सेवा

भक्तपुर- मिर्गौलाका बिरामीलाई सहज र निःशुल्क सेवा उपलब्ध गराउने उदेश्यले भक्तपुर अस्पतालमा आजदेखि डायलासिस सेवा शुभारम्भ गरिएको छ। बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले डायलासिस सेवाको उद्घाटन गर्नुभएको हो। बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालमा डायलासिस सेवा बिस्तार गर्ने उद्देश्यका साथ बागमती प्रदेश सरकारले खरिद गरेको १६ वटा डायलासिस मेसिनमध्ये भक्तपुर अस्पतालमा पाँच शय्याको डाइलासिस सेवा शुभारम्भ गरिएको उनले बताए।

मन्त्री थापाले भने, ‘बागमती प्रदेशले रसुवा र काठमाडौँको टोखा अस्पतालबाहेक अरु ११ जिल्लाका अस्पतालमा प्रदेशस्तरीय डायलासिस सेवा सुरू गरेका छौँ, बाँकीमा पनि केही दिनमा शुभारम्भ गर्नेछौँ।’

उनले मन्त्रालयले १३ जिल्लाका सबै प्रदेशस्तरीय अस्पतालमा विशेषज्ञ सेवा सुरु गरेको बताउँदै त्यसका लागि थप जनशक्ति प्रदेश सरकारले व्यवस्थापन गर्ने बताए।

भक्तपुर अस्पताललाई नयाँ भवन निर्माणका लागि यस वर्ष मन्त्रालयले तीन करोड बजेटको व्यवस्था गरेको र थप बजेटका लागि दाता खोजिरहेको बताउँदै मन्त्री थापाले पाँच वर्षभित्र नयाँ भवन निर्माण सम्पन्न गर्ने बताए।

कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले न्यूनतम सेवा मापदण्डअनुसार ‘बी’ ग्रेडका अस्पतालमध्ये देशकै सर्वोत्कृष्ट अस्पताल बनेको भक्तपुर अस्पताल प्रदेशले गर्व गर्न लायक अस्पतालको रूपमा विकास भइरहेको बताइन्। उनले अहिले पनि ७१ प्रतिशत मानिस नसर्ने रोगका कारण मृत्यु हुने गरेको बताउँदै रोगै लाग्न नदिन सामाजिक चेतनाका अभियान सञ्चालन गर्न लागेको जानकारी दिइन्।

अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले संघीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रहेको नर्सिङ तथा सामाजिक सुरक्षा विभागले सूचीकृत गरी अनुमति दिएसँगै डायलासिस सेवा सुरु गरिएको बताए। विभागले निःशुल्क सेवाको सुविधा दिएपछि विपन्न र गरिब बिरामीलाई निःशुल्क सेवा उपलब्ध गराउने उनको भनाइ छ। उनले हाल दैनिक तीन सिफ्टमा चार जनाको दरले १२ जनालाई सेवा दिने र एक मेसिन आकस्मिक बिरामीका लागि राखिने जानकारी गराए।  रासस

प्रकाशित: १४ साउन २०८२ २०:५९ | Wednesday, July 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast