 
                             
                                            काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले रसुवामा आएको बाढी र त्यसले निम्त्याएको मानवीय र भौतिक क्षतिको दुःख व्यक्त गर्दै उद्धार तथा राहत सामग्री वितरणमा विलम्ब नगर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्।
आकस्मिक समयमा बोल्दै उनीहरूले विपद् जोखिम न्यूनीकरणमा सरकार पर्याप्त तयारीका साथ लाग्नुपर्ने बताए। सांसदहरू विश्वप्रकाश शर्मा, देवेन्द्र पौडेल, अर्जुननरसिंह केसी, ईश्वरबहादुर रिजाल, विमला सुवेदी, प्रकाशशरण महत, सीता मिजार र डा.अमरेशकुमार सिंहले रसुवामा आएको भीषण बाढीमा परेकाहरूको उद्धारमा ढिलाइ नगर्न आग्रह गरेका हुन्।
त्यसैगरी, सांसदद्वय देवेन्द्र पौडेल र श्यामकुमार घिमिरेले उपभोक्ता अदालतको फैसलाविरूद्ध आन्दोलित चिकित्सकहरूले देशभरि आकस्मिकबाहेकका सेवा ठप्प पार्दा सर्वसाधारण मार्कामा परेकाले यथाशीघ्र सम्बन्धित निकायसँग वार्ता गरी निकास निकाल्नुपर्ने बताए।
सांसदहरू प्रभु हजारा, प्रभु साह र दिनेशकुमार यादवले मधेशमा खानेपानीको समस्याबारे सदनमा ध्यानाकर्षण गराए। मधेश प्रदेशका विभिन्न जिल्लामा खानेपानीको हाहाकार रहेकाले खानेपानी उपलब्ध गराउन उनीहरूले माग गरे। यसैगरी, सांसद दिनेशकुमार यादवले सप्तरीमा खानेपानीको हाहाकारसँगै मल र खादको अभाव रहेकाले समस्या सम्बोधन गर्नुपर्ने बताए।
सांसद हरिप्रसाद उप्रेतीले उखु किसानहरूले अनुदान नपाउँदा उद्योगहरू बन्द हुने स्थितिमा पुगेकाले किसानले बेचेको उखुको पैसा र अनुदान पाउनुपर्ने बताए। सांसदहरू धनबहादुर बुढा, कान्तिका सेजुवाल र सम्झना थपलियाले विभिन्न समसामयिक विषयमा आफ्ना मागबारे संसद्मा ध्यानाकर्षण गराए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
 