बागमती : कांग्रेसका चार मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्री फेर्ने कसरत

हिमाल प्रेस ९ साउन २०८२ १७:५३ | Friday, July 25, 2025
बागमती : कांग्रेसका चार मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्री फेर्ने कसरत

काठमाडौँ- बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी चार मन्त्रीले राजीनामा दिएका छन्। युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले शुक्रबार राजीनामा दिएका हुन्।

‘मुख्यमन्त्रीलाई राजीनामा बुझाए काठमाडौँ फर्किँदै छु,’ राजीनामा दिएका एक मन्त्रीले भने।

कांग्रेस सांसद इन्द्रबहादुर बानियाँलाई संसदीय दलको नेतामा निर्वाचित गराएर मुख्यमन्त्री बनाउन कांग्रेसभित्र ‘विद्रोह’ सुरू भएको हो। यसअघि बानियाँ र बहादुरसिंह लामाबीच संसदीय दलको नेतामा प्रतिस्पर्धा भएको थियो।

लामासँग पाँच मतको अन्तरले बानियाँ पराजित भएका थिए। कांग्रेस–एमालेको गठबन्धन बनेपछि लामा बागमतीको मुख्यमन्त्री बनेका थिए। यतिबेला बानियाँपक्ष संसदीय दलको नेता फेर्ने कसरतमा जुटेका छन्। ३७ सांसद रहेको कांग्रेस संसदीय दलमा बानियाँको पक्षमा २४ जना रहेको बताइएको छ।

यस विषयमा कांग्रेस सांसदहरूले मुख्यमन्त्री लामालाई जानकारी गराइसकेको छ।

बजेटलाई लिएर कांग्रेसका सांसदहरू मुख्यमन्त्री लामासँग असन्तुष्ट थिए। बजेट वितरणमा उनले मनोमानी गरेको आरोप कांग्रेसका मन्त्री र सांसदरूको थियो।

कांग्रेस नेताहरूका अनुसार शीर्ष नेतृत्वले नै बागमतीमा मुख्यमन्त्री फेर्न चाहना व्यक्त गरेका छन्। सभापति शेरबहादुर देवाले मुख्यमन्त्री लामालाई राजीनामा दिन आग्रह गरेको नेताहरूको भनाइ छ। तर, लामा भने राजीनामा दिन तयार नभएको बताइएको छ। लामा आफैँले राजीनामा नदिएपछि कांग्रेसका सांसदहरू मुख्यमन्त्री फेर्ने कसरतमा जुटेका हुन्।

लामालाई संसदीय दलको नेताबाट हटाउन दलको कार्यालयमा हस्ताक्षर बुझाएका छन्। कांग्रेसका २१ सांसदहरूले हस्ताक्षरसहित संसदीय दलमा उनीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।

लामाविरूद्ध संसदीय दलमा २४ सांसद रहेको बताइए पनि २१ जनाले मात्र हस्ताक्षर गरेका छन्। उनलाई दलको नेताबाट हटाउन १९ सांसदको समर्थन चाहिएकोमा २१ जना पुगेका छन्।

संसदीय दलको नेताबाट हटेसँगै लामाको मुख्यमन्त्री पद पनि गुम्ने छ।

 

प्रकाशित: ९ साउन २०८२ १७:५३ | Friday, July 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast