फत्तेपुरमा हरियोपात कुहाएर प्राङ्गारिक मल उत्पादन सुरु, वन संरक्षण र आयआर्जनमा योगदान

हिमाल प्रेस ८ साउन २०८२ १४:२४ | Thursday, July 24, 2025
फत्तेपुरमा हरियोपात कुहाएर प्राङ्गारिक मल उत्पादन सुरु, वन संरक्षण र आयआर्जनमा योगदान

सप्तरी- सप्तकोसी नगरपालिका-१ स्थित फत्तेपुरमा सामुदायिक वन प्रयोग गरेर प्राङ्गारिक मल उत्पादन सुरु गरिएको छ। वनमा खेर गइरहेका सुकेका र हरिया पात संकलन गरी कम्पोस्ट मल उत्पादन थालिएको हो। उक्त प्रयासले वन संरक्षण, स्वच्छ वातावरण र स्थानीय आयआर्जनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

रक्तमाला नमुना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष इन्द्रप्रसाद लुइँटेलका अनुसार हाल १० हजार किलो सुकेको र १० हजार किलो हरियोपात मिलाएर २० हजार किलो मल उत्पादन गर्ने योजना छ। उत्पादित मल किसानहरूलाई निःशुल्क वितरण गरिनेछ।

उनका अनुसार जडीबुटी रोप्ने, फलफूलका बिरुवा उत्पादन गर्ने, जैविक तथा सहिद पार्क निर्माण गर्ने, ट्रिहाउस र पोखरी निर्माण गर्ने लगायतका कार्यहरू अगाडि बढाइएको छ। कुल ३४७.५ हेक्टर क्षेत्रमा फैलिएको पार्क निर्माण कार्यबाट वार्षिक २२ लाख रुपैयाँ आम्दानी लिने लक्ष्य राखिएको छ।

जिल्ला वन कार्यालय र सामुदायिक वनको संयुक्त साझेदारीमा सञ्चालन भइरहेको योजनाअन्तर्गत खैर, अमला, लताम, सिसौँ, अर्जुन, टिक मसला, तेजपत्ता, आँप, लिची, मोरिङ्गालगायत बिरुवाहरू उत्पादन गरी स्थानीय समुदायमा वितरण भइरहेको डिभिजनल वन अधिकृत सुभाषचन्द्र दासले जानकारी दिए।

उनका अनुसार सप्तरी जिल्लामा २१ हजार १३६ हेक्टर वनक्षेत्र छ। हाल १३७ सामुदायिक वन र ६ वटा सब डिभिजन वन कार्यालय रहेका छन्। जिल्लाको काष्ठजन्य मुख्य प्रजातिमा साल, अस्ना, सिसौँ, खयर, सिमल, हर्रो, बर्रो, जामुन छन्। लघु वन पैदावारमा च्याउ, निउरो, वेत, बोजो, दतिवन, अम्रिसो, राजवृक्ष, सिन्दुरे, कुटमिरा, कुरिलो, बाँस लगायत उल्लेखनीय छन्।

प्रकाशित: ८ साउन २०८२ १४:२४ | Thursday, July 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast