पोखरामा घरायसी विवादमा श्रीमतीको हत्या

हिमाल प्रेस ११ साउन २०८२ १८:१६ | Sunday, July 27, 2025
पोखरामा घरायसी विवादमा श्रीमतीको हत्या

पोखरा- आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पोखरामा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा-२७, रिठ्ठेपानीका ५८ वर्षीय जंगे सार्कीलाई पक्राउ गरी आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

जग्गा बेच्ने भन्ने विषयमा ५३ वर्षीया श्रीमती जमुना नेपाली सार्कीसँग झगडा हुँदा उनले गत ६ साउनमा मुक्का प्रहार गरी भित्तामा ठोक्काएर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

घटना विवरणअनुसार जंगे सार्कीको खास घर कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा ५, रिभान हो। उनी करिब २० वर्षदेखि पोखरा-२७, रिठ्ठेपानी शान्ति खहरेस्थित सुकुम्बासी टोलमा अस्थायी छाप्रो बनाई श्रीमतीसँग बस्दै आएका थिए। पहिलो श्रीमतीले ३६ वर्षअघि एक जना छोरा छाडेर पोइला गएपछि जंगेले जमुनासँग दोस्रो विवाह गरेका हुन्।

जंगेले घर बनाउने मिस्त्रीको काम गर्ने गर्दै आएका थिए भने जमुनाले घरायसी काम गर्थिन्। पहिलो श्रीमतीतर्फको एक छोराले विवाह गरी रिभानमै बस्दै आएका छन् भने जंगे र जमुना दम्पती रिठ्ठेपानीमै बसोबास गर्दै आएका थिए।

यत्तिकैमा गत ६ साउनको दिन जंगेले मदिरा सेवा गरी बसेका थिए। उनले श्रीमतीसँग जग्गा बेच्नेबारे सल्लाह गरे। दुवैबीच आपसी विवाद बढ्दै गयो। आवेगमा जंगेले श्रीमतीमाथि २ मुक्का हाने र भित्तामा ठोक्काए।

घटनापछि उनी घरबाहिरको टहरामा गई सुते। भोलिपल्ट बिहान जंगे उठेर छिमेकीको घरमा चिया खान गए। त्यतैबाट लेखनाथ शिशुवास्थित ठेकेदारलाई भेटेर पैसा लिन भनी गए। दिनभर ठेकेदार भेट्न नसकेपछि साँझ घरमा आई खाना बनाएर खाएर सुते।

श्रीमतीमाथि आक्रमणको दोस्रो दिन ८ साउन बिहान जंगे छिमेकी मामा नाताको घरमा गए। त्यहाँ चिया खाएर पुनः शिशुवातर्फ लागे। ठेकेदारलाई भेट्न गएका उनी श्रीमतीतर्फ चासो दिएनन्।

उक्त दिन साँझतिर छिमेकीले जंगेको घरबाट गन्ध आएको महसुस गरे। गएर हेर्दा बेडमा जमुनालाई ढलेको पाए। उनको शरीर सडिसकेको रहेछ। प्रहरीले पोस्टमार्टमका लागि शव अस्पताल लग्यो। रिपोर्टमा ‘टाउकोमा कडा प्रहार’ भन्ने खुल्यो।

कास्की प्रहरीले हत्या आरोपमा जंगेलाई ८ साउन साँझ करिब ८ बजेतिर उनको आफ्नै घरबाट पक्राउ गरेको हो। प्रहरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा उनलाई ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले बताए।

प्रकाशित: ११ साउन २०८२ १८:१६ | Sunday, July 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast