पुष्पलाल स्मृति दिवस देशभर मनाउन निर्देशन

हिमाल प्रेस ६ साउन २०८२ १३:२८ | Tuesday, July 22, 2025
पुष्पलाल स्मृति दिवस देशभर मनाउन निर्देशन

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले मातहतका सबै जिल्ला कमिटीलाई कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन दिएको छ।

पार्टीले विदेशमा रहेका जनवर्गीय संगठनलाई समेत स्मृति दिवस मनाउन आग्रह गरेको हो। पार्टी निकट पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुर नगरपालिका-४ चम्पादेवीस्थित पुष्पलाल उद्यानमा श्रद्धाञ्जलिसभा, अन्तरक्रिया, ग्रन्थ विमोचनलगायत कार्यक्रम गर्ने जनाएको छ।

प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विश्व कम्युनिस्ट आन्दोलनमा नेपाली कम्युनिस्ट आन्दोलनको अवस्था, कार्यदिशा र चुनौतीबारे प्रस्तुति गर्नेछन्।

कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन वामपन्थी शक्तिबीचको ध्रुवीकरण, कम्युनिस्ट नेतृत्वमा आएको वैचारिक विचलन, मुलुकको वर्तमान राजनीतिक अवस्था, कम्युनिस्ट पार्टीका भूमिकाबारे समीक्षा गरिने पार्टीले जनाएको छ।

दिवसका अवसरमा सरसफाइ, वृक्षरोपण, रक्तदान तथा अन्तरक्रिया गरिने पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए। २००६ मा भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्दा पुष्पलालले समुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राखेका थिए।

१९८१ असारमा रामेछापको भङ्गेरीमा जन्मिएका पुष्पलाल वैचारिक रूपले सशक्त र प्रेरणादायी नेताका रूपमा परिचित थिए। उनको निधन २०३५ सालमा भएको थियो।

प्रकाशित: ६ साउन २०८२ १३:२८ | Tuesday, July 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast