पुराना दल पतन उन्मुख हुँदैछन् भन्ने पछिल्लो प्रमाण संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक : डा.भट्टराई

हिमाल प्रेस २७ असार २०८२ ६:४७ | Friday, July 11, 2025
पुराना दल पतन उन्मुख हुँदैछन् भन्ने पछिल्लो प्रमाण संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक :  डा.भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयकलाई लिएर आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकार र प्रतिपक्ष दुवैप्रति आक्रोश पोख्दै पुराना दलहरू अब सुध्रन नसक्ने गरी पतनको दिशातिर अग्रसर भइरहेको टिप्पणी गरेका छन्।

‘सत्ता र प्रतिपक्षमा पालैपालो बसेर संघीय लोकतान्त्रिक गणतन्त्रको हुर्मत लिँदै आएका पुराना दलहरू अब सुध्रनै नसक्ने गरी पतनको दिशातिर उन्मुख हुँदैछन्,’ डा. भट्टराईले भनेका छन्, ‘त्यसको पछिल्लो प्रमाण संसद्बाट चोचोमोचो मिलाएर पारित गरिएको संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक हो।’

उनका अनुसार उक्त विधेयकले संविधानमै व्यवस्था गरिएको ६ सदस्यीय संवैधानिक परिषद्लाई निरर्थक बनाउँदै प्रधानमन्त्री र अरु एक सदस्यले मात्र संवैधानिक अंगहरूको नियुक्ति गर्ने व्यवस्था गरेको छ। उनले यसलाई ‘हास्यास्पद, निर्लज्ज, स्वेच्छाचारी, अलोकतान्त्रिक र असंवैधानिक हर्कत’ का रूपमा व्याख्या गरेका छन्।

संवैधानिक परिषद् प्रमुख न्यायाधीश, निर्वाचन आयोग, लोकसेवा आयोग र अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायका नियुक्तिका लागि बनाइएको संवैधानिक संयन्त्र हो। तर, नयाँ विधेयकले यस संयन्त्रलाई कार्यकारी प्रमुखको कब्जामा पुर्‍याउने प्रयास गरेको भट्टराईको आरोप छ।

‘कार्यकारी प्रमुखको सम्भावित स्वेच्छाचारिता नियन्त्रण गर्ने, निष्पक्ष निर्वाचन गराउने, सुशासन कायम गर्ने, भ्रष्टाचार रोक्ने जिम्मेवारी पाएका अंगहरूको नियुक्ति अब प्रमले एक जना साथ लिएर मात्र गर्न पाउने हो भने त्यो कस्तो लोकतन्त्र?’ भट्टराईले प्रश्न गरेका छन्।

उनले अमेरिकी राष्ट्रपतीय प्रणालीजस्तो प्रत्यक्ष निर्वाचित कार्यकारी र संसदीय अनुमोदनजस्तो संयन्त्रको व्यवस्था नभएको अवस्थामा यस्तो अधिकार एक्ला कार्यकारी प्रमुखलाई दिनु लोकतन्त्रको हत्या भएको उल्लेख गरेका छन्।

भट्टराईले थप लेखेका छन्, ‘यसको सोझो अर्थ हो- यी पुराना दल र तिनका टाउका सुध्रनेवाला छैनन्। यिनले आफ्नो चिहान आफैँ खन्दैछन्। नयाँ र वैकल्पिक शक्तिहरूको उदयलाई अपरिहार्य छ।’

प्रकाशित: २७ असार २०८२ ६:४७ | Friday, July 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast