पश्चिम नवलपरासीमा लम्पीस्किन संक्रमण फैलिँदै

हिमाल प्रेस १ साउन २०८२ १३:४६ | Thursday, July 17, 2025
पश्चिम नवलपरासीमा लम्पीस्किन संक्रमण फैलिँदै

नवलपरासी- बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ३४ पशुचौपायामा लम्पीस्किनको संक्रमण देखिएको छ। पछिल्लो समय खोप नलगाएका पशुमा संक्रमण देखिन थालेकामे हो।

खोप नलगाएका पाडापाडी, बाच्छाबाच्छीमा लम्पीस्किनको संक्रमण देखा परेकाले संक्रमण फैलिने जोखिम बढेको नवलपरासी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख श्रावणकुमार चौधरीले बताए। उनका अनुसार सुनवल, बर्दघाट, सुस्ता, प्रतापपुर र रामग्राममा लम्पीस्किन फैलिएको हो।

संक्रमणग्रस्त क्षेत्रमा नियमित उपचार र निरीक्षण भइरहेको पशु सेवा विज्ञ केन्द्रकी डा.विभूति सिंहले जानकारी दिइन्। यो रोगका कारण मर्ने पशुको संख्या कम भए पनि दूध उत्पादनमा घटेपछि किसान चिन्तित बनेका उनको भनाइ छ।

लम्पीस्किनको संक्रमण पछिल्लो समय मुलुकभर देखा परेको बताउँदै उनले नवलपरासीमा गत असारदेखि लम्पीस्किनको संक्रमण देखा पर्न थालेको जानकारी दिइन्। उनका अनुसार पहिलो पटक बर्दघाटमा देखिएको लम्पीस्किनको संक्रमण अहिले जिल्लाका पाँच वटै स्थानीय तहमा फैलिएको छ।

‘लम्पीस्किन लागेका गाईभैँसीमा ज्वरो आउने र दानापानी कम खाने, दूध उत्पादन घट्ने, खुट्टा तथा जोर्नी सुनिने, नाक, मुख वरपर घाउ हुने, छालामा सानो गोलो गिर्खा देखिन सक्ने र गिर्खा फुटेर घाउ बनेमा औँसा पर्नसक्ने हुन्छ’, प्रमुख डा.चौधरीले भने।

२०७७ असार १० गते मोरङको सुन्दरहरैचा नगरपालिका–११ का गाईमा लम्पीस्किनको लक्षण देखा परेको थियो। केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा ‘मलिकुलर’ विधिबाट परीक्षण गर्दा २०७७ साउन १२ गते लम्पीस्किन पुष्टि भएको हो।

केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरको तथ्यांक अनुसार ७६ जिल्लामा लम्पीस्किन फैलिएको छ भने यस रोगबाट पाँच लाख ५५ हजार पशु संक्रमण भएका छन् तीमध्ये २१ हजार पशुको मृत्यु भएको छ।

प्रकाशित: १ साउन २०८२ १३:४६ | Thursday, July 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast