नुवाकोटको दुप्चेश्वरबाट नक्कली नोटसहित दुई पक्राउ

हिमाल प्रेस ९ साउन २०८२ ६:४२ | Friday, July 25, 2025
नुवाकोटको दुप्चेश्वरबाट नक्कली नोटसहित दुई पक्राउ फाइल तस्बिर।

नुवाकोट- नेपाल प्रहरीले दुप्चेश्वर गाउँपालिकाबाट एक हजार दरका ९३ थान नक्कली नोटसहित दुई जनालाई बिहीबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार ६ जना किशोरहरूले नक्कली नोट लिएर हिँडेको सूचनाका आधारमा खटिएको प्रहरीले नक्कली नोट बनाउन संलग्न दुई जनालाई पक्राउ गरेको हो।

दुप्चेश्वर गाउँपालिका-६ स्थित रामती बजारमा यही मंगलबार किनमेल गर्न नक्कली नोट बोकेर हिँडेका ती किशोरहरूसँग गरिएको अनुसन्धानका क्रममा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा दुप्चेश्वर-७ का ४२ वर्षीय नरबहादुर तामाङ र ४८ वर्षीय भीमबहादुर तामाङ रहेका छन्। प्रहरीको अनुसार उनीहरूले एक हजार दरका नक्कली नोट बनाएर बच्चा र गाउँमा चलनचल्तीमार्फत प्रयोगमा ल्याउने गरेको पाइएको छ।

बजारमा सामाग्री खरिद गर्न आएका बालकहरूको साथबाट एक हजार दरका ६९ थान र पक्राउ परेका व्यक्तिको घरमा खोजतलास गर्दा थप २४ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ।

‘उनीहरूले लामो समयदेखि नक्कली नोट बनाएर प्रयोगमा ल्याउने गरेको पाइएको छ’, प्रहरी नायब उपरीक्षक लामाले भने,‘संलग्न अन्य व्यक्ति र प्रयोग भएका उपकरणको खोजी भइरहेको छ।’

पक्राउ परेकालाई प्रहरीले बिहीबार नै जिल्ला अदालत नुवाकोटबाट ‘खोटा मुद्रासम्बन्धी कसुर’मा कारबाहीका लागि अनुसन्धान गर्न सात दिनको म्याद लिएको छ।

प्रकाशित: ९ साउन २०८२ ६:४२ | Friday, July 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast