 
                             
                                            काठमाडौँ- संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न विशेष समितिमा सात जना सदस्यको टुंगो लागेको छ।
समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्रबाट रोशन कार्की रहेको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ। समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको छ।
सभामुख देवराज घिमिरेसहित विभिन्न दलका प्रमुख सचेतकहरूबिच शनिबार भएको सहमतिअनुरूप समितिको प्रतिनिधिसभाबाट समिति घोषणा गरिँदै छ।
राज्य व्यवस्था तथा सुशासन समितिले लामो समय छलफल गरेर निजामती सेवाबाट अवकाशप्राप्त कर्मचारीलाई दुई वर्षसम्म कुनै पनि संवैधानिक वा सरकारी नियुक्तिमा जान नपाउने गरी ‘कुलिङ पिरियड’ को व्यवस्था उक्त विधेयकमा गरेको थियो। प्रतिनिधिसभाबाट पारित हुँदा कुलिङ पिरियडको व्यवस्था निष्क्रिय हुने अर्को प्रावधान राखिएको थियो।
यसबारे समितिमा विवाद उत्पन्न भएपछि समिति सभापति रामहरि खतिवडाले सभामुख घिमिरेलाई छानबिनका लागि आग्रह गरेका थिए। सोहीअनुसार छानबिन समिति गठन गरिएको हो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 