नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३१ अर्ब ४० करोडको बजेट

हिमाल प्रेस ७ साउन २०८२ १९:५९ | Wednesday, July 23, 2025
नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३१ अर्ब ४० करोडको बजेट

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ४० करोड ४७ लाख बजेट विनियोजन गरेको छ।

क्यानले आज (बुधबार) पत्रकार सम्मेलनमार्फत स्वीकृत बजेट तथा कार्यक्रमबारे संक्षिप्त जानकारी दिएको हो। अघिल्लो वर्ष ३४ अर्ब १२ करोड १६ लाख विनियोजन गरेको क्यानले चालु आर्थिक वर्षका लागि दुई अर्ब ७१ करोड ६९ लाख बजेट घटाएको छ।

क्यानले पुँजीगततर्फको बजेट भने बढाएर १२ अर्ब ३९ करोड ७० लाख पुर्‍याएको छ। गत वर्ष ११ अर्ब ५२ करोड २५ लाख विनियोजन गरिएको थियो। यस्तै कार्य सञ्चालनतर्फ ६ अर्ब १५ करोड ६७ लाख विनियोजन गरिएको छ। अघिल्लो आर्थिक वर्ष ६ अर्ब ५२ करोड ७१ लाख विनियोजन भएको थियो। वित्तीय व्यवस्थापनका लागि १२ अर्ब ८५ करोड १० लाख बजेट विनियोजन गरिएको क्यानले उल्लेख गरेको छ।

पत्रकार सम्मेलनमा क्यानका महानिर्देशक प्रदीप अधिकारीले पुँजीगत खर्च बढाउने र सञ्चालन खर्च घटाउनेतर्फ क्यान केन्द्रित रहेको बताए। उनले प्राधिकरणको आम्दानी बढाउन विमानस्थल शुल्क, यात्रुसेवा आदि विषयमा पुनरावलोकन हुन जरूरी भएको बताए।

महानिर्देशक अधिकारीले क्यानको स्रोत खुम्चिएको र हरेक वर्ष बजेट घटिरहेको भन्दै स्रोत व्यवस्थापनमा ध्यान दिने विश्वास व्यक्त गरे। उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालका लागि पहल भइरहेको जानकारी दिए।

प्रकाशित: ७ साउन २०८२ १९:५९ | Wednesday, July 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast