कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने दुर्लभ सुनौलो तोपचराको संख्या घटेको छ। नेपाल पन्छी संरक्षण संघ (वीसीएन)को आयोजना तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा पाँच दिनसम्म गरिएको गणनामा विगतका तुलनामा तोपचराको संख्या घटेको पाइएको हो।
नेपाल पन्छी संरक्षण संघका चराविज्ञ हिरुलाल डगौराका अनुसार पाँच दिनसम्म गरिएको गणनामा चराको संख्या एक सय ८४ रहेको पाइएको छ।
गत वर्ष गरिएको गणनामा तोपचराको संख्या दुई सय १३ रहेको थियो। ‘घाँसे मैदान विनाश नै सुनौलो तोपचराको विनाशको प्रमुख कारणका रूपमा रहेको छ’, उनले भने, ‘पहिला निकुञ्जको बाह्य क्षेत्रमा धेरै घाँसेमैदान रहेकामा हाल मानव अतिक्रमणका कारण घाँसेमैदान अतिक्रमणमा परेका छन्।’
उनका अनुसार घाँसे मैदानमा रहेका रुख र घाँसमा तोपचराले गुँड लगाउने गर्दछन्। संरक्षण क्षेत्र बाहिर रहेका ती क्षेत्र नासिदै गएका छन्।
हाल निकुञ्जको संरक्षित क्षेत्रभित्रको घाँसे मैदानमात्र बाँकी छ। सुनौलो तोपचराले आहाराका लागि निकुञ्ज नजिकका किसानका खेतसम्म पुग्ने गर्दछन्। ‘कृषिमा अन्धाधुन्ध रूपमा विषादीको प्रयोग हुन थालेपछि चराले खेतमा विषादी प्रयोग गरिएको अन्नलगायत खाँदा मर्ने गरेका छन्’, उनले भने।
अर्को सुनौलो तोपचरा विनाशका कारणमा अन्य सिकारी चराले प्रजननका बेला गुँडमा रहेका बच्चा र अण्डा खाइदिने गरेको उनको भनाइ छ। निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम बाग्ले बसाइँसराइका कारणले पनि यस चराको संख्या घट्नुमध्येको एक कारण हुनसक्ने बताउँछन्। निकुञ्जभित्रको घाँसेमैदानको बासस्थानमा पहिलेको भन्दा केही फरक नरहेको उनी बताउँछन् ।
उनका अनुसार सुनौलो तोप चरा तराई क्षेत्रमा मात्र पाइने चरा हो । नेपालमा छातीकाले तोपचरा, धर्के तोपचरा, बया तोपचरा र सुनौलो तोपचरा गरी चार प्रजातिका पाइन्छन्। सुनौलो तोपचरा विश्वमै दुर्लभ संकटापन्न अवस्थामा रहेको छ ।
यस चराले मेदेखि सेप्टेम्बरसम्म प्रजनन गर्ने गर्दछ । नेपालका संरक्षित क्षेत्रमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्र सुनौलो तोपचराले निकुञ्जको घाँसेमैदानका बीच भागमा गुँड लगाउने गर्दछ।
झट्ट हेर्दा भँगेराजस्तै देखिने र पहेँलो रङको हुने भएकाले यसलाई सुनौलो तोप भनिएको चराविज्ञ डगौराले बताउँछन्। रासस

                                             
                                             
                                             
                                             
                                             

