 
                             
                                            दार्चुला- सदरमुकाम खलंगामा वितरण भइरहेको खानेपानीमा मानव स्वास्थ्यका लागि घातक इकोली जीवाणु भेटिएको छ। स्वास्थ्य कार्यालय दार्चुलाको परीक्षणमा पाँच स्थानबाट संकलन गरिएको नमुनामध्ये चार स्थानमा इकोली पाइएको हो।
स्वास्थ्य कार्यालय प्रमुख वीरेन्द्रप्रसाद भट्टका अनुसार दूषित पानीकै कारण इकोली देखिएको पुष्टि भएको छ। खलंगामा गारकु खोलाबाट ल्याइएको पानी ट्यांकीमा क्लोरिन नराखी सिधै धारामा पठाउँदा समस्या देखिएको हो। एक महिनाअघि सो खोलामा मरेको कुकुर फालिएको भिडियो सार्वजनिक भएपछि सरोकारवालाहरू सचेत बनेका थिए।
पानीको मूल स्रोतदेखि धारासम्मकै पानीमा इकोली भेटिएको भन्दै स्वास्थ्य कार्यालयले क्लोरिनको नियमित प्रयोग र वितरण प्रणालीको निगरानी गर्न खलंगा सहरी खानेपानी आयोजनालाई निर्देशन दिएको छ। साथै असार, साउन र भदौ महिनासम्म पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन आम उपभोक्तालाई आग्रह गरिएको छ।
खानेपानीको गुणस्तरमा समस्या देखिएपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा स्थलगत निरीक्षण र नमुना संकलन गरिएको थियो। राष्ट्रिय गुणस्तर मापदण्डअनुसार पानी अपायक भएको पुष्टि भएको छ।
करिब २,२०० घरधुरीमा पानी वितरण भइरहे पनि अझै आयोजनाको काम अधुरो रहेको जनाइएको छ। निर्माण कम्पनीसँग सम्पर्क नभएको र केही प्राविधिक काम अधुरो भएका कारण आयोजनाको हस्तान्तरण प्रक्रिया रोकिएको छ। फिल्टर प्रणाली पनि प्रभावकारी नभएको गुनासो छ।
एसियाली विकास बैंकको ७० प्रतिशत अनुदान, नगर विकास कोषको ऋण तथा उपभोक्ताको लगानीमा सञ्चालन भइरहेको आयोजनाले अपेक्षित गुणस्तरको पानी दिन नसकेको भन्दै उपभोक्ताहरूले तत्काल सुधार गर्न माग गरेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 