त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला

हिमाल प्रेस ५ साउन २०८२ २०:१४ | Monday, July 21, 2025
त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला

खोटाङ- विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा महिना दिनसम्म लाग्ने ‘बोलबम’ मेला आज (सोमबार) देखि सुरु भएको छ। हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको संगमस्थल हलेसीमा साउन महिनाभर बोलबम मेला लाग्ने गरेको छ।

बोलबमको अवसर पारेर यहाँ लगाइएको मेलामा गेरुवस्त्रधारी दर्शनार्थी तथा भक्तजनको घुइँचो लागेको छ। हलेसी आवतजावत गर्ने प्रमुख मार्ग मध्यपहाडी लोकमार्गमा सामूहिक रूपमा ‘बोलबम’ शब्द उच्चारण गर्दै खाली खुट्टा पैदलयात्रा गर्ने दर्शनार्थीको सङ्ख्या पनि उत्तिकै छ।

मेलाको पहिलो दिन आज १२ हजार ४७५ जनाले मन्दिर दर्शन गरेका हलेसी सूचना केन्द्रका प्रमुख रमेश राईले जानकारी दिए। ‘हलेसी दर्शन गर्न आएका अधिकांश दर्शनार्थी भारतीय नागरिक रहेका छन्। तीमध्ये धेरैजसो आफ्नै सवारीसाधन प्रयोग गरेर आएका छन्,’ उनले भने।

हलेसी विकास समितिका अध्यक्ष डिल्ली चाम्लिङले तराईबाट हलेसीसम्म आउने सडक विस्तार भएपछि बोलबम मेलामा उत्साहजनक उपस्थिति बढेको बताए।

मनोकांक्षा पूरा हुने विश्वासका साथ हलेसी मन्दिरको प्रमुख गुफाभित्र अवस्थित शिवलिंगमा साउनको प्रत्येक सोमबार विभिन्न नदीबाट ल्याइएको जल चढाउने गरिन्छ।

प्रकाशित: ५ साउन २०८२ २०:१४ | Monday, July 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast