डा.भट्टराईको आह्वान- वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि गम्भीर विमर्श आवश्यक

हिमाल प्रेस १२ साउन २०८२ १०:१६ | Monday, July 28, 2025
डा.भट्टराईको आह्वान- वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि गम्भीर विमर्श आवश्यक

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि गम्भीर विमर्श आवश्यक भएको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले पछिल्लो समय देखिएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक उतारचढाव, सुशासन र समृद्धिप्रतिको जनअपेक्षा र पुराना दलहरूप्रति तीव्र हुँदै गएको जनआक्रोशलाई मध्यनजर गर्दै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

डा.भट्टराईका अनुसार वर्तमान परिस्थितिमा जनतामा आशा र विश्वासको संचार गर्न सक्ने, भरपर्दो र अग्रगामी नयाँ शक्ति निर्माणको आवश्यकता झनै देखिएको छ। ‘देशमा गम्भीर विमर्श गर्नुपर्ने बेला आएको छ,’ उनी लेख्छन्, ‘यसका लागि नयाँ उदीयमान शक्तिहरू, पुराना दलभित्रका प्रगतिशील र लोकतान्त्रिक तप्का तथा सचेत नागरिकहरूले आआफ्नो ठाउँबाट भूमिका खेल्न आवश्यक छ।’

उनले लोकतान्त्रिक प्रणालीमा आवधिक निर्वाचनहरू जनविमर्श, राजनीतिक सक्रियता र ध्रुवीकरणको प्रमुख अवसर हुने भएकाले आगामी प्रतिनिधिसभा उपनिर्वाचनलाई समेत महत्त्वपूर्ण मान्ने धारणा व्यक्त गरे। कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं. ३ को निर्वाचनमा साझा वैकल्पिक उम्मेदवारको घोषणा त्यो दिशातर्फको ‘महत्त्वपूर्ण प्रस्थानविन्दु’ बन्न सक्ने उनले उल्लेख गरे।

डा.भट्टराईले सम्बद्ध सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँदै वैकल्पिक राजनीतिक अभियानलाई सुदृढ गर्न साझा प्रयास आवश्यक रहेको बताए।

प्रकाशित: १२ साउन २०८२ १०:१६ | Monday, July 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast