‘टीपीएस’ खारेजीविरूद्धको मुद्दाको सुनुवाइ जुलाई २९ मा, ‘एनटीपएसए’ को सदस्यता लिन आग्रह

हिमाल प्रेस ८ साउन २०८२ २१:१४ | Thursday, July 24, 2025
‘टीपीएस’ खारेजीविरूद्धको मुद्दाको सुनुवाइ जुलाई २९ मा, ‘एनटीपएसए’ को सदस्यता लिन आग्रह

न्युयोर्क– टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) खारेज गर्ने ट्रम्प प्रशासनको निर्णयविरूद्ध क्यालिफोर्नियाको नर्दन डिस्ट्रिक्ट अदालतमा दायर मुद्दाको पहिलो सुनुवाई आगामी जुलाई २९ मा हुने भएको छ।

नेशनल टीपीएस एलायन्सको अगुवाईमा दुई जना नेपालीसहित सात जनाले नेपाल, होन्डुरस र निकारागुवाको टीपीएस जोगाउन संयुक्तरूपमा जुलाई ७ मा मुद्दा दायर गरेका थिए।

युनाइटेड फर टीपीएस नेपाल (युटीपीएसएन) का संस्थापक संयोजकमध्येका एक अनिल शाहीले विज्ञप्ति निकालेर सबै नेपाली ‘टीपीएस’ धारीलाई नेशनल टीपीएस एलायन्स (एनटीपीएसए) को सदस्यता लिन आग्रह गरेका छन्। टीपीएस खारेजीको निर्णयले हजारौँ नेपालीको जीवन प्रभावित हुने भएकाले कानुनी सुरक्षाका लागि सबैलाई संगठित हुन विज्ञप्तिमा आह्वान गरिएको छ।

अमेरिकी सरकारले मुद्दाको सुनुवाइका क्रममा केवल मुद्दा दायर गर्ने वादी वा एनटीपीएसएको सदस्यमा सीमित गर्न अनुरोध गर्न सक्ने सम्भावना रहेकोले एनटीपीएसको सदस्यता लिने नेपालीहरू मात्र कानुनी सुरक्षाअन्तर्गत पर्ने विज्ञप्तिमा जनाइएको छ।

अहिले झन्डै सात हजार ८ सय नेपाली टीपीएसअन्तर्गत अमेरिकामा रहेका छन्। एनटीपीएसको सदस्यता निःशुल्क लिन सकिने र सदस्यता लिएपछि कानुनी तथा राजनीतिक रूपमा नेपाली टीपीएसधारीहरू बलियो हुने विज्ञप्तिमा जनाइएको छ।

मुद्दामा नेपालमा सन्ध्या लामा, होन्डुरसका जोनी र निकारागुवाका मारिया लेना वादीका रूपमा रहेका छन्। संयोजक शाहीले सान फ्रान्सिस्को आसपासका नेपाली समुदायलाई मुद्दाको सुनुवाइका दिन प्रत्यक्षरूपमा अदालतमा उपस्थित भई नैतिक समर्थन जनाउन पनि आह्वान गरेका छन्।

टीपीएस संरक्षणका लागि चलिरहेको देशव्यापी अभियानमा एकताबद्ध भई सहभागी हुन, मुद्दा, वकालत तथा अन्य गतिविधिको जानकारी समयमै प्राप्त गर्न एनटीपीएसए सदस्यता आवश्यक रहेको शाहीले उल्लेख गरेका छन्।

प्रकाशित: ८ साउन २०८२ २१:१४ | Thursday, July 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast