 नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमारी झाक्री
                             नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमारी झाक्री
                                            काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको जनाएको छ। पार्टी कार्यालय आलोकनगरमा बिहिबार बसेको केन्द्रीय सचिवालय बैठकपछि पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको जानकारी दिएका हुन्।
यसअघि बिहिबार नै पार्टी कार्यालयमा पुगेर झाँक्रीले आफूलाई स्पष्टीकरण सोधेको विषय निराधार भएको बताएकी थिइन्।
उपाध्यक्ष खतिवडाले झाँक्रीको अभिव्यक्तिका विषयमा अनुशासन आयोगले निश्चित समय तोकेर स्पष्टीकरण सोधेकाले समयभित्रै स्पष्टीकरण आउने विश्वास रहेको बताए।
झाँक्रीले गत १४ गते युवा संघ लुम्बिनीले आयोजना गरेको कार्यक्रममा नेतृत्व फेर्न ‘अर्ली महाधिवेशन’ गर्नुपर्ने बताएकी थिइन्। पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेकोले ‘अर्ली महाधिवेशन’ गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने उनको भनाइ थियो।
उनले भनेकी थिइन्,‘अरू कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन।…अर्ली महाधिवेशन गरौँ। हलबाट नेतृत्व छानौँ।’
यो भनाइपछि विवादमा मुछिएकी झाक्रीको पार्टीभित्र तीव्र आलोचना भएको छ।
सचिवालय बैठकमा पतञ्जली प्रकरणमा माधव नेपालमाथिको मुद्दा, पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टीका आन्तरिक विषयमा छलफल भएको खतिवडाले बताए।
बिहिबार बसेको बैठकमा उपाध्यक्ष धर्मनाथ साह, उपमहासचिव मेटमणि चौधरी, राजेन्द्र राईले धारणा राखेका थिए। पार्टीका केही नेताहरु अस्वस्थ्य रहेकाले बैठक केहीसमय बसेर स्थगित गरिएको उनले जानकारी दिए।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक असार २२ गते पुनः बस्नेगरी स्थगित भएको उनले बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 