छाउगोठ भत्काउने विशेष अभियान सञ्चालन गर्न कञ्चनपुर प्रशासनको अनुरोध

हिमाल प्रेस ३० असार २०८२ २०:४० | Monday, July 14, 2025
छाउगोठ भत्काउने विशेष अभियान सञ्चालन गर्न कञ्चनपुर प्रशासनको अनुरोध छाउगोठ भत्काउँदै स्थानीय महिलालगायत। तस्बिर- सागर रावल/हिमालप्रेस

कञ्चनपुर- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाका ९ वटै पालिकालाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न अनुरोध गरेको छ। आज (सोमबार) एक सूचना जारी गर्दै जिल्लाका ९ वटै स्थानीय तहलाई छाउ कुप्रथा हटाउन विशेष अभियान सञ्चालन गर्न अनुरोध गरेको हो।

गत शनिबार कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ निगालीमा छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला दमाईंको सर्पले डसेर मृत्यु भएपछि छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए। ‘परम्परागत रूपमा चलिरहेको कुप्रथा अझै कायमै छ। त्यसैका कारण शनिबार एक महिलाले ज्यान गुमाउनुपर्‍यो। त्यसैले यो कुप्रथा उन्मूलन गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ। सोहीअनुसार सबै पालिकालाई अभियान सञ्चालन गर्न अनुरोध गरेका छौँ,’ उनले भने।

कृष्णपुर नगरपालिकाले पनि १५ दिनभित्र छाउगोठ भत्काउन सबैलाई आग्रह गरेको छ। नगरका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले १५ दिनभित्र छाउगोठ नभत्काए १० हजार जरिवाना गरिने बताए। ‘सबै वडा कार्यालयलाई छाउगोठ निरीक्षण गरी १५ दिनभित्र भत्काउन भनेका छौँ,’ उनले भने, ‘अटेर गर्नेलाई १० हजार जरिबाना गर्ने निर्णय गरेका छौँ।’

कृष्णपुर नगरपालिका-१ का वडाध्यक्ष मोहनबहादुर बस्नेतले वडाले दुई वर्षअघिदेखि छाउगोठ भत्काउने अभियान चलाए पनि सार्थकता पाउन नसकेको बताए। ‘गाली खाएर, झगडा गरेर पनि हामीले धेरै छाउगोठ भत्कायौँ, तर बनाइहाले,’ उनले भने, ‘देउता रिसाउने अन्धविश्वासकै कारण यहाँ महिनावारी भएको बेला छाउगोठ बस्ने गरिएको छ।’ वडाध्यक्ष बस्नेतका अनुसार उक्त वडामा मात्रै अझै दुई सयभन्दा बढी छाउगोठ छन्। रासस

प्रकाशित: ३० असार २०८२ २०:४० | Monday, July 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast