 फाइल तस्बिर
                            फाइल तस्बिर
                                            काठमाडौँ- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति र महामन्त्रीमा एकै समूहबाट निर्वाचन लडेका डा. शेखर कोइराला र गगन थापाबीच संवाद र समन्वय हुन छाडेको छ। नेपाली कांग्रेसको अनुशासन समितिले १८ नेताहरूमाथि अनुशासनको कारबाहीविरुद्ध दुई नेताको एउटै मत देखिए पनि उनीहरूबीच संवाद टुटेको नेताहरू बताउँछन्।
निर्वाचनको तीन वर्षपछि नेताहरूमाथि अनुशासनका कारबाही चल्दा आगामी महाधिवेशन र निर्वाचनलाई प्रभाव पर्ने कोइराला समूहको निष्कर्ष छ। कोइराला पक्षका भेलाले अनुशासनको कारबाही प्रतिशोधको भावनाले चलाइएको आरोप लगाएको छ।
कारबाहीपछि आयोजित कोइराला पक्षीय बैठकमा महामन्त्री थापाको खोजी भएको थियो। बैठकमा उनी मात्रै होइन, उनी निकट कुनै नेता पनि सहभागी थिएनन्। यद्यपि नेताहरूले उनको खोजी गरेका थिए। बैठकमा सहभागी एक नेताका अनुसार सहभागीहरूले कारबाहीप्रति थापाको धारणा के हो भनेर बुझ्न खोजेका थिए।
कोइराला समूहले बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजना गरेको केन्द्रीय नेताहरूको भेलामा पनि महामन्त्री थापा र उनी निकट नेता सहभागी थिएनन्। गत सोमबार आयोजित उक्त भेलामा कोइराला पक्षधर नेताहरूले सबै नेतालाई बोलाइएको बताएका छन्।
महामन्त्री थापा निकट मानिने अजयबाबु शिवाकोटीले भेलाबारे आफूहरूलाई जानकारी नभएको बताए। ‘हामीलाई त्यस्तो कार्यक्रमका बारेमा जानकारी छैन’, शिवाकोटीले हिमालप्रेससँग भने।
यसैगरी कोइराला निकट मानिने नेता गुरु घिमिरेले पछिल्ला दिनमा महामन्त्री थापासँग डा. कोइरालाको संवाद र समन्वय हुन छाडेको बताए। उनले भने, ‘सम्भवतः हामीसँग उहाँ जोडिनुभएको छैन।’
महामन्त्री थापा पनि अनुशासनको कारबाहीविरुद्ध छन्। उनले गत सोमबारको एक कार्यक्रममा सम्बोधन गर्दै पार्टीभित्र कारबाहीको ‘कोत पर्व’ चलेको बताएका थिए।
थापाले कांग्रेस अहिले चौतर्फी घेरामा रहेको भन्दै ‘कोतपर्व’ जस्तै अनुशासन पर्व चलाइनु गलत भएको टिप्पणी गरेका छन्। उनले भने, ‘यो कारबाही समय, पार्टीको परम्परा, पार्टीको कानुन, विधानका हिसाबले पनि सही छैन। यसले पार्टीलाई थप कमजोर बनाउँछ।’
कोइराला पक्ष नेताहरू तत्काल कारबाही फिर्ता हुनुपर्ने अडानमा छन्। ‘पहिले पनि सभापतिजी र शेखर दाइबीच संवाद भएको रहेछ। त्यहीअनुसार अघि बढ्नुपर्छ भन्नेमा हामी छौँ,’ शेखर कोइराला निकट घिमिरे भन्छन्, ‘पहिले नै उपसभापतिहरू, महामन्त्रीहरूसहित सभापतिजीसँग कारबाही नगर्ने सहमति हुँदाहुँदै किन कारबाही भयो। यो फिर्ता हुनुपर्ने अडानमा छौँ।’
घिमिरे देउवा-शेखरबीच यस विषयमा संवाद् भएकाले कारबाहीको निर्णय फिर्ता हुने विश्वास व्यक्त गर्छन्।
महामन्त्री थापा समूहसमेत कारबाही गर्ने काम उचित भए पनि ‘बेमौसमी’ भएको दाबी गर्छन्। ‘अनुशासनहीनता बढाउन भएन। तर यो कारबाही गर्ने उचित समय होइन’, शिवाकोटी भन्छन्।
कांग्रेस केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, प्रकाश रसाइली स्नेही र अजय बाबु शिवाकोटीले संयुक्त विज्ञप्ति जारी गरेर नेता कार्यकर्तामाथि भएको अनुशासन कारबाहीको निर्णयमाथि प्रश्न उठाएका छन्।
‘पार्टीमा बेनामे जस्तो बनाएर अपारदर्शी ढंगले कारबाही गरियो। यही विषयलाई आधार बनाएर केन्द्रीय समिति बैठक बोलाइयोस्’, केन्द्रीय सदस्य शिवाकोटी भन्छन्।
समान विचार र धारणा हुँदा समेत गगन-शेखरबीच समन्वय नहुनुलाई शंकाको दृष्टिले हेर्नुपर्ने राजनीतिक विश्लेषक डा. विष्णु दाहाल बताउँछन्। आगामी कार्यकाल सभापतिमा शेरबहादुर देउवा लड्न नपाउने भएकाले पनि सहज बाटोबाट शेखर-गगन सभापतिमा चुनिन चाहन्छन्। दुवै नेताहरू अहिले पनि सभापतिकै तयारीमा छन्। एकै समूहबाट दुई नेता सभापति बन्न नसक्ने भएकाले फरकफरक तरिका अपनाउन थालेको कांग्रेस नेताहरू सुनाउँछन्।
‘उनीहरू दुवै सभापतिको तयारीमा छन्। यसले गर्दा संवादहीनता बढेको देखिन्छ’, विश्लेषक डा. दाहाल भन्छन्। आफूलाई ‘सेलिब्रेटी’का रूपमा प्रस्तुत हुँदा गगन कमजोर बनेको दाहालको विश्लेषण छ।
‘जसरी तारानाथ रानाभाट (महामन्त्री) दरबारको साक्षी बसे, गगन थापा देउवाको साक्षी बसेर कमजोर बने’, दाहाल भन्छन्, ‘उनी (गगन) अहिले देउवा, ओली र आरजुको बदमासीका विषयमा मौन छन्।।’ दाहाल देउवा गुट तितरबितर हुँदा फाइदा शेखरलाई पुगेको बताउँछन्।
थापा यतिबेला पार्टीको महामन्त्री हुन्। पार्टीको जिम्मेवार पदाधिकारी भएकाले पनि कतिपय निर्णयमा असन्तुष्टि रहे पनि सार्वजनिक रूपमा बाोल्न सक्ने अवस्थामा छैनन्। पार्टीको जिम्मेवार तहमा रहेकाले निर्णयहरूमा असन्तुष्टि रहे पनि सार्वजनिक रूपा नबाोलेर राजनीतिक रूपमै सल्टाउने प्रयासमा रहेको उनी नेताहरू बताउँछन्। हुनत थापा संसदीय दलको नेतामा सभापति देउवासँग प्रतिस्पर्धा गरेकै बेला नेता कोइरालासँग एकखाले सहमति भएको थियो। दिनभर चलेको इतर समूहको त्यो भेलाले संसदीय दलको नेतामा थापा र १५ औँ महाधिवेशनमा कोइराला सभापतिमा प्रतिस्पर्धा गर्ने सहमति जुटेको थियो। तर, त्यो सहमति पनि पानीको फोकाजस्तो भएको छ, यतिबेला।
संस्थापन समूहबाट देउवाको उत्तराधिकारी तय नभएकाले महामन्त्री थापा आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने दाउमा देखिएका छन्। कोइराला आफैँ उम्मेदवार बन्ने भएपछि यो समूह थापाका लागि ‘कम्फर्टेबल’ देखिएको छैन। र, उनी देउवाको आशिर्वाद लिन चाहिरहेका छन्। यसकारण पनि शेखरसँगको संवाद र समन्वयमा थापाको दूरी बढेको नेताहरूको भनाइ छ।
कोइराला र थापाबीच झन्डै एक वर्षपछि जेठ १६ गते भेटवार्ता भएको थियो। दुई नेताबीच २०८१ असार ३० गते मन्त्री पठाउने विषयमा छलफल भएको थियो। त्यसपछि जेठ १६ गते भेट भएको थियो।
नेतामाथि अनुशासनको डण्डा लागेपछि कांग्रेसका ४ केन्द्रीय सदस्यले माग गरे केन्द्रीय समितिको बैठक
कांग्रेसमाथि ‘कांग्रेस प्रजातान्त्रिक’ को कारबाही, संयोजक ढुंगानाको भूमिका विवादास्पद
नेताहरूमाथि कांग्रेसको डन्डा : अनुशासनको कारबाही कि प्रतिशोध?
पार्टी उम्मेदवार हराउने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही, को–को परे?


 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 