केपी ओलीविनाको एमाले होस् भन्नेहरूको कामना पूरा हुँदैन : ओली

हिमाल प्रेस २९ असार २०८२ १८:१२ | Sunday, July 13, 2025
केपी ओलीविनाको एमाले होस् भन्नेहरूको कामना पूरा हुँदैन : ओली प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल भएको बताएका छन्। झापा एमालेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले केपी ओलीविनाको एमाले होस् भन्नेहरूको कामना पूरा नहुने बताए।

‘एमालेविनाको देश र केपी ओलीविनाको एमाले होस् भन्नेहरूको कामना पूरा हुँदैन। एमाले साना स्वार्थ बोक्ने पार्टी होइन। यसको काँधमा देश बनाउने महान उद्देश्य छ। यो राष्ट्रिय हितका लागि बलिदानबाट आएको पार्टी हो,’ ओलीले भने,‘एमालेविरूद्ध जाल बुन्नेहरू सफल हुँदैनन्। माकुरोको जालोमा कहिल्यै भैँसी पर्दैन। हाम्राविरूद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन। केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन। हामी सहकारी ठगेर मुद्दा झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने पार्टीजस्ता हुँदै होइन।’

आफूविनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल भएको टिप्पणी गर्दै ओलीले पार्टीभित्र र बाहिरबाट भइरहेका षडयन्त्र चिदैँ ढुक्कका साथ सही नीति र नेतृत्वको पक्षमा लाग्न आग्रह गरे।

उनले पार्टीमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभ लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिध्याउने षडयन्त्र गरे पनि कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाएको बताए।

एमालेले नसके अरू कसैले पनि देश बनाउन नसक्ने भन्दै ओलीले आफू प्रधानमन्त्री भएपछि फलामखानी र पेट्रोलियम पदार्थको उत्खनन, सुरूङमार्ग निर्माणजस्ता अनेकौँ विकास र समृद्धिका काम थालनी भएकामा त्यसको प्रतिफल आउन थालेको जिकिर गरे।

हाल नेपालको अन्तर्राष्ट्रिय छवि देखिने र सुनिने अवस्थामा रहेको उल्लेख गर्दै उनले पछिल्लो स्पने भ्रमणको सफलता सुन्न नचाहने विपक्षीले वाईसीएल प्रयोग गरेर स्पेन भ्रमणमा मान्छे छाडेर आयो भनेर दुस्प्रचार गरेको टिप्पणी गरे।

प्रकाशित: २९ असार २०८२ १८:१२ | Sunday, July 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast